काठमाडौँ। रियान परागको आक्रमक ब्याटिङसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
बिहीबार सम्पन्न खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो। जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो।
२ खेलबाट ४ अंक जोडेको राजस्थान तालिकाको दोस्रो स्थानमा रहेको छ। समान खेलबाट समान अंक रहेको चेन्नई सुपर किंग्स नेटरनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ।
राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो।
दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
कप्तान ऋषभ पन्त २८, मिचेल मार्श २३ र अभिषेक पोरेल ९ रनमा पेभिलियन फर्किँदा ट्रिस्टन स्टब्स ४४ र अक्षर पटेल १५ रनमा अविजित रहे।
राजस्थानका नान्द्रे बर्गर र युजवेन्द्र चाहलले २/२ विकेट लिए। आवेश खानको नाममा १ विकेट रह्यो।
त्यसअघि सवाई मानसिंह स्टेडियम जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।
राजस्थानका रियान परागले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। ४५ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।
रवि आश्विन २९, ध्रुव जुरेल २०, कप्तान सन्जु सामसन १५, जोश बटलर ११ र यशस्वी जयसवाल ५ रनमा आउट हुँदा शिमरन हेटमायर १४ रनमा अविजित रहे।
दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिख नार्खिऐ, अक्षर पटेल र कुलदीप यादवको नाममा १/१ विकेट रह्यो।