काठमाडौँ। सुनील नारायणको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ।
शुक्रबार सम्पन्न खेलमा कोलकाताले बेंगलुरुलाई ७ विकेटले पराजित गरेको हो। बेंगलुरुले दिएको १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाउँदै १८६ रन बनायो।
कोलकाताका वेंकटेश आय्यरले सर्वाधिक ५० रन बनाए। ३० बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै, सुनीनले २२ बलमा २ चौका र ५ छक्कासहित ४७ रन बनाए।
फिल साल्ट ३० रनमा आउट हुँदा कप्तान श्रेयस आय्यर ३९ र रिन्कु सिंह ५ रनमा अविजित रहे। बेंगलुरुका यश दयाल, मयंक डागर र जिजयकुमार बैशाखको नाममा १/१ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।
बेंगलुरुका ओपनर विराट कोहलीले सर्वाधिक ८३ रन बनाए। ५९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।
कमरुन ग्रिन ३३, ग्लेन मैक्सवेल २८ र दिनेश कार्तिक २० रनमा आउट हुँदा अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
कोलकाताका हर्षित राणा र आन्द्रे रसेलले २/२ विकेट लिए। सुनील नारायणको नाममा १ विकेट रह्यो। जितसँगै कोलकाताले २ खेलबाट ४ अंक जोडेको छ। बेंगलुरुको ३ खेलबाट २ अंक रहेको छ।