काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स लगातार तेस्रो खेलमा पराजित भएको छ।
सोमबार राति सम्पन्न खेलमा मुम्बई राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको हो। मुम्बई पहिलो खेलमा गुजरात जायन्ट्ससँग ६ र दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको थियो।
जितसँगै ३ खेलमा शतप्रतिशत जित हासिल गरेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। ६ अंक रहेको राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० र दोस्रो खेलमा दिल्ली क्यापिटललाई १२ रनले पराजित गरेको थियो।
मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। राजस्थानका रियान परागले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए। ३९ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
रविचन्द्रन आश्विन १६, जोश बटलर १३, कप्तान सञ्जु सामसन १२ र यशस्वी जयसवाल १० रनमा आउट हुँदा शिवम दुवे ८ रनमा अविजित रहे।
मुम्बईका आकाश माधवालले सर्वाधिक ३ विकेट लिए। क्वेना माफाकाको नाममा १ विकेट रह्यो।
त्यसअघि वानखडे स्टेडियममा टि हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएको हो।
ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए। उनीहरूले रनको खाता खोल्न सकेनन्। यस्तै, युजवेन्द्र चाहलले पनि ३ विकेट लिए।
नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो। मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए।
२१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे।