मकवानपुर- राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बुधबार हेटौंडामा गरेको जनप्रदर्शनमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो प्रमुख अतिथि रहेको जनप्रदर्शनमा उलेख्य संख्यामा बालबालिकालाई सहभागी गराइएको थियो ।
बालबालिकाले तामाङ राष्ट्रिय बाहिनी लेखिएको ओभर ज्याकेट र अभियानको चिह्न अंकित झण्डा बोकेर कार्यक्रममा सहभागिता जनाएका थिए । विरोध सभा, प्रदर्शन, जुलुस लगायतका गतिविधिमा बालकालिकाको प्रयोग गरिनु बाल अधिकार सम्बन्धि महासन्धी तथा बालबालिका सम्बन्धि ऐन विपरित कार्य मानिन्छ ।
ट्राफिक व्यवस्था अस्तव्यस्त
हेटौंडामा बुधबार भएको जनप्रदर्शनले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । हेटौंडाको मुटु बुद्धचोकको बीच सडकमै मञ्च बनाएर कार्यक्रम गरेपछि सर्वसाधारणले सास्ती पाएका हुन् । कार्यक्रम अवधीभर करीब २ घण्टा बुद्धचोकबाट राप्तीरोडतर्फ जाने सवारी प्रभावित बनेको थियो । जुन सकडमार्ग हेटौंडामा अधिकांश अस्पताल पुग्ने छोटो दूरीको मार्ग हो ।
एम्बुलेन्स सहितका आपतकालिन् सवारीले समेत वैकल्पिक मार्गको प्रयोग गरेका थिए । प्रहरीले आयोजकलाई बीच सडकमा प्रदर्शन नगर्न बारम्बार अनुरोध गरेतापनि आयोजकले सडकको मध्य भागमै कार्यक्रम गरेका थिए ।
पहिचान र अधिकारको निम्ति एकजुट हुनुपर्नेमा जोड
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री महतो र सुमन सायमी लगायत राष्ट्रिय मुक्ति क्रान्ति अभियान आवद्ध नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गद राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महताले पहिचानवादीहरु एक नभई अधिकार प्राप्त नहुने बताउनुभयो ।
पहिचानवादीहरु छुट्टाछुट्टै लड्दा शक्ति कमजोर भएको उहाँको भनाइ थियो । अहिले नेतृत्व तहमा बसेकाहरुले हक र अधिकारको लागि संघर्ष गर्नेहरुबीच फुट ल्याउने काम गरेको आरोप उहाँले लगाउनुभयो ।
संयोजक महतोले राष्ट्रिय मुक्ति क्रान्ति बिना अधिकार स्थापित हुन नसक्ने बताउनुभयो । संयोजक महतोले आफुहरुको आन्दोलनलाई कुनै पनि तागतले परास्त गर्न नसक्ने जिकिर गर्नुभयो ।
नदी तालको नामबाट प्रदेशको नामाकरण गरिएकोमा उहाँको चरम असन्तुष्टि थियो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पहिचान र अधिकारको निम्ति सबै एकजुट हुनुको विकल्प नभएको बताएका थिए ।