काठमाडौँ। पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको छ। आईपीएलको जारी सिजनमा पञ्जाबको चार खेलमा यो दोस्रो जित हो।
पञ्जाबले यसअघिका दुई खेलमा हार बेहोरेको थियो। तर, टोलीले प्रतिकूल परिस्थितिलाई जित्दै घरेलु मैदानमा पञ्जाबले गुजरातलाई पराजित गरेको हो। पहिले ब्याटिङ गरेको गुजरातले १९९ रन बनाएको थियो।
२०० रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले शुरूआत राम्रो गर्न सकेको थिएन्। तर, इम्प्याक्ट सबका रूपमा मैदानमा उत्रेका शशांक सिंह र आशुतोष शर्माले टोलीलाई खेलमा फर्काए। यी दुई ब्याट्सम्यानको मद्दतमा पञ्जाबले एक बल बाँकी रहँदा ७ विकेट गुमाउँदै २०० रन बनाएर जित दर्ता गरायो। योसँगै पञ्जाबले यो सिजनको सबैभन्दा ठूलो स्कोर पछ्याएको छ।
पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक थियो र ३ विकेट बाँकी थियो। गुजरातका लागि दर्शन नालकन्दे बलिङ गर्न आएका थिए। उनले आशुतोष शर्मालाई पहिलो बलमा राशिद खानको हातमा क्याच आउट गराए। अर्को बल भने वाइड भयो।
नयाँ ब्याट्सम्यानको रूपमा आएका हरप्रीत बराडले अर्को बलमा प्रहार गर्न सकेनन् र तेस्रो बलमा रन लिए। अब पञ्जाबलाई तीन बलमा पाँच रन चाहिएको थियो। चौथो बलमा शशांकले चौका प्रहार गरे र स्कोर बराबरी भयो। लेग बाईमार्फत पाँचौँ बलमा रन बनाए र पञ्जाबले रोमाञ्चक जित दर्ता गर्यो।
शशांकले २९ बलमा ६ चौका र ४ छक्कासहित अविजित रहँदै ६१ रन बनाए। प्रभसिमरन सिंह ३५, आशुतोष शर्मा ३१, जोनी बेयरस्टो २२, जितेश शर्मा १६ र सिकन्दर राजा १५ रनमा आउट हुँदा हरप्रीत बराड १ रनमा अविजित रहे।
गुजरातका नूर अहमदले सर्वाधिक २ विकेट लिए। अजमतउल्लाह ओमरजाई, उमेश यादव, राशिद खान,मोहित शर्मा र दर्शन नालकन्देको नाममा १/१ विकेट रह्यो।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो।
गिलले अविजित रहँदै सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे।
साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा अविजित रहे।
पञ्जाबका कगिसो रबाडाले सर्वाधिक २ विकेट लिए। हरप्रीत बराडा र हर्षल पटेलको नाममा १/१ विकेट रह्यो।