चितवन । चितवनको भरतपुरमा आइतबारदेखि जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कोशी र सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा पुगेका छन् ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको भरतपुर–१५ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको खेल मैदानमा प्रतियोगिताको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । महिला क्रिकेट भने शनिबारदेखि नै सुरु भएको थियो ।
रङ्गशालाको नमुना मैदानमा सोमबार भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
सुदूरपश्चिमले दिएको १८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेटको क्षतिमा ७५ रन मात्रै बनाउन सक्यो ।
उसका लागि रञ्जु श्रेष्ठले १५, सरस्वती पुनले १३ र लक्ष्मी चौधरीले १० रन बनाइन् । जितसँगै सुदूरपश्चिमले सेमिफाइनलमा लुम्बिनी प्रदेशको सामना गर्ने छ । विजेता टोली फाइनलमा कोशी प्रदेशसँग भिड्ने छ ।
यसअघि कोशी प्रदेश प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । रङ्गशालाको नमुना मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै कोशीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
बागमतीले दिएको ८३ रनको झिनो लक्ष्य कोशीले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा काजल श्रेष्ठले अविजित ३३ रन बनाइन् भने कप्तान रूविना क्षेत्री १९, अप्सरी बेगम ९ रनमा आउट भइन् । रोमा थापाले अविजित ७ रन बनाइन् ।
यसैबीच, पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १२१ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ भने पुरुष क्रिकेट बुधबारदेखि सुरु हुनेछ । भरतपुरमा वैशाख १ गतेसम्म हुने खेलकुदमा ५ हजार जनाभन्दा बढी खेलकर्मीहरू सहभागी हुने प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिनुभयो ।
संघीय संरचनाअनुसार ७ प्रदेशको सहभागिता रहने खेलकुद प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख १ गते शनिबारसम्म चल्ने छ । तीमध्ये एउटा मात्रै हेटौँडामा हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने वर्षमा आयोजना गर्ने गरी सात प्रदेशले अन्तर प्रदेश खेलकुदको कार्यक्रमको परिकल्पना गरेका हुन् ।