काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं मेयर-११ लाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो ।
काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । यस्तै कृष्ण कार्कीले १९ रन जोड्दा सिद्दान्त लोहनीले १८ रन जोडे ।
काठमाडौंका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सर्राफले ४ विकेट लिए । प्लेयर अफ दि म्याच बनेका उनले मात्र १६ रन खर्चिए ।
यस्तै दिपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो ।
पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे ।
यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए ।
दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए ।
काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३/३ विकेट लिए ।
प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो ।
यस जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो ।
पुलिस तालिकाको शीर्ष स्थानमा समेत रहेको छ ।
पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।
काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ ।
तेस्रो स्थानको रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना रहेको छ ।
पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।