काठमाडौँ। कप्तान सञ्जु सामसनको आक्रामक इनिङ्सका बाबजुद राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।
मंगलबार राति सम्पन्न खेलमा राजस्थान २० रनले पराजित भएको हो। योसँगै पाँचौँ स्थानमा रहेको दिल्लीले १२ खेलबाट १२ अंक जोडेको छ।
एक खेल कम खेलेको राजस्थान १६ अंक साथ दोस्रो स्थानमा रहेको छ। दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो।
राजस्थानका कप्तान सामसनले सर्वाधिक ८४ रन बनाए। ४६ बल खेलेका उनले ८ चौका र ६ छक्का प्रहार गरे।
रियान पराग २७, शुभम दुबे २५,जोस बटलर १९ र रोवमन पावेल १३ रनमा आउट हुँदा ट्रेन्ट बोल्ड २ र आवेश खान ७ रनमा अविजित रहे।
दिल्लीका खलील अहमद, मुकेश कुमार र कुलदीप यादवले २/२ विकेट लिए। अक्षर पटेल र रसिख सलामको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको हो।
दिल्लीका ओपनर अभिषेक पोरेरले सर्वाधिक ६५ रन बनाए। ३६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै, जेक फ्रेजर मक्गर्कले २० बलमै अर्धशतक पूरा गरे।
७ चौका र ३ छक्का प्रहार गरेका उनले अभिषेकसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। ट्रिस्टन स्टब्स ४१, गुलबदीन नईब १९ तथा अक्षर पटेल र कप्तान ऋषभ पन्त १५/१५ रनमा आउट हुँदा कुलदीप यादव ५ रनमा अविजित रहे।
राजस्थानका रवि अश्विनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए। ट्रेन्ट बोल्ड, सन्दीप शर्मा र युजवेन्द्र चहलले १/१ विकेट लिए।