मकवानपुर- प्रदेश सरकारले घोषणा गरेको सीप विकास वर्ष २०८१ लाई युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय सहित बागमती प्रदेशको दोस्रो युवा सम्मेलन सकिएको छ ।
सम्मेलनले युवामैत्री नीति निर्माण र बनेका नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका १३ बुँदे घोषणपत्र जारी गरेको छ । युवामैत्री नीति निर्माण र विद्यमान नीतिको प्रभावकारी कार्र्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले १३ बुँदे घोषणापत्र मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुझाउनुभएको छ ।
प्रदेशका सबै स्थानीय तहहरुको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण र प्रभावकारी सहभागिता मार्फत युवामैत्री स्थानीय तहहरुको प्रवद्र्धन गर्न घोषणापत्र मार्फत् युवाहरुले आग्रह गरेका छन् ।
घोषणापत्रमा युवाका सवालमा बागमती प्रदेशसँग सम्वन्धित विशेष अध्ययन, अनुसन्धान तथा तथ्यांक अद्यावधिक तथा सार्वजनिक सेवाहरुमा डिजिटल गभर्नेन्सको अभ्यासमार्फत युवाहरुको पहुँच विकाश गरिनु पर्नेमा जोड दिइएको छ ।
सम्मेलनको समपन अघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुसंग अन्तरक्रिया गर्नुभएको थियो । मुख्यमन्त्री जम्मकट्टेलले युवाहरुमा निराशा भन्दा सकारात्मक सोच र उत्साह आवश्यक रहेको भन्दै देश विकासमा युवा सरकारको सहयोगी बन्नुपर्ने बताउनुभयो ।
वैशाख २८ गतेदेखि सुरु भएको सम्मेलनमा बागमती प्रदेशका ९१ पालिकाका अनलाइन मार्फत् आवेदन दिएर छनौटमा परेका २ सय जना प्रतिनिधि युवाहरुको सहभागिता थियो । पहिलो प्रदेश युवा सम्मेलनले जारी गरेको ११ बुँदे घोषणा पत्रमा उल्लेख भएका ७ वटा विषयलाई प्रदेश सरकारले चालु आर्थिक वर्षबाट कार्यान्वयन गरेको परिषद्को दाबी छ ।
घोषणापत्रमा समेटिएका बुँदाहरु :
(१) युवा सम्मेलनले बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमती प्रदेशका युवाहरुको चाहना र आवश्यकताहरुको सम्वोधन गरिनु पर्ने छ ।
(२) संघीय तथा प्रदेश सरकारका आवधिक योजनाहरु, युवासँग सम्बन्धित नीतिगत व्यवस्थाहरुको कार्यान्वयनमा बागमती प्रदेश युवा परिषद्ले यस बागमती प्रदेशमा नेतृत्वदायी उपस्थितीसहित महत्वपूर्ण भुमिका खेल्नुपर्दछ । यसका लागि आवश्यक स्रोत तथा साधनको सुनिश्चिता तवर हुनुपर्दछ । बागमती प्रदेश युवा परिषद्लाई थप स्रोत साधनसम्पन्न बनाउदै बागमती प्रदेशका युवाहरुका साझा सवालहरुको सम्वोधनका लागि परिषद्को नेतृत्वदायी भूमिकालाई थप प्रवद्र्धन गर्नुपर्दछ ।
(३) बागमती प्रदेश युवा परिषद्ले संचालन गरिरहेको युवाहरुको सीप विकास तथा सीप परीक्षणलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बागमती प्रदेशका सबै युवाहरुमाझ पुर्याउनु पर्दछ । युवाहरुमा रोजगारी, स्वरोजगारी र उद्यमशिलता प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले गरेको सीप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई बागमती प्रदेश युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ ।
(४) बागमती प्रदेशका सबै स्थानीय तहहरुको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण र प्रभावकारी सहभागितामार्फत युवामैत्री स्थानीय तहहरुको प्रवद्र्धन गर्नुपर्दछ ।
(५) स्थानीय तहको सहभागितात्मक योजना निर्माण र कार्यान्वयनमा युवाहरुको सृजनशिल सहभागिता प्रवद्र्धन गर्नुपर्दछ । विभिन्न तहका नीतिगत निर्णय र सोको प्रभावकारी कार्यान्वयनमा युवाहरुको राजनीतिक तथा सामाजिक निर्णायक उपस्थिती प्रवद्र्धन गर्नुपर्दछ ।
(६) युवाहरुको साझा सवालहरुको सम्वोधनका लागि युवाहरुमा लगानी प्रवद्र्धन गरिनु पर्दछ । युवाका सवालमा बागमती प्रदेशसँग सम्वन्धित विशेष अध्ययन, अनुसन्धान तथा तथ्यांक अद्यावधिक तथा सार्वजनिक सेवाहरुमा डिजिटल गभर्नेन्सको अभ्यासमार्फत युवाहरुको पहुँच विकाश गरिनु पर्दछ ।
(७) युवाहरुमा सचेतना, शिक्षा, सृजनशीलता र सहभागिताको प्रवद्र्धन गर्नुपर्दछ । युवालाई देशमै संभावनाहरुको खोजी र युवाहरुका लागि अवसरहरुको पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक छ । विदेशमा कमाएको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालमा लगानी गर्नका लागि आवश्यक नीतिगत सम्वोधन र प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।
(८) बागमती प्रदेशका कला, सँस्कृति, पुरातत्व र ऐतिहासिक तथा प्राकृतिक क्षेत्रहरुको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनमा युवाहरुको सहभागिता सुनिश्चित गर्नुपर्दछ ।
(९) जलवायु परिवर्तनका नकारात्मक असरहरु, विपद् रोकथाम तथा व्यवस्थापन र वातावरण संरक्षणमा युवाहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी युवाहरुको नेतृत्वमा जलवायु अनुकुलन, विपद् व्यवस्थापन र वातावरणिय न्यायको प्रवद्र्धन गर्नुपर्दछ ।
(१०) युवाहरुका लागि सुचना प्रविधिमा पहुँच, क्षमता विकास, सीप विकास, युवाहरुले नेतृत्व गरेका संस्थाहरुको संस्थागत सवलीकरण, संजालीकरण र युवाका साझा सवालहरुको सम्वोधन लगायतका सवालमा प्रदेश युवा परिषद् तथा जिल्ला युवा समिति र स्थानीय तहहरुको समेत थप क्रियाशील बनाउनु पर्दछ ।
(११) युवालाई प्राविधिक, गुणस्तरीय, व्यावहारिक र जीवन उपयोगी शिक्षा, सक्षमता, जिम्मेवारीपन, ज्ञान र सीपयुक्त बनाउदै समग्र विकासमा युवाहरुलाई नेतृत्वदायी रुपमा स्थापित गर्न उत्प्रेरित गर्दै समृद्ध बागमती प्रदेश अभियानमा युवाहरुको सहभागितात्मक नेतृत्व प्रवद्र्धन गरिनु पर्दछ ।
(१२) युवाका उत्पादनहरुको ब्राण्डिङ, बजारीकरण र युवालाई उत्पादनमा जोड्नका लागि नवप्रवर्तनसँग सम्वन्धित विशेष नीतिगत व्यवस्थाहरु तय गर्दै भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।
(१३) नेपालमा जनसांख्यिक लाभका रुपमा रहेका युवाहरुको वर्तमान जनसंख्या देश समृद्ध बनाउने उपयुक्त अवसर हो । जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ । युवाहरुका लागि देशमै दिगो र प्रभावकारी संभावनाहरुको खोजी गर्नु पर्दछ । युवामा लगानी बिना देशको समृद्धि हुनै सक्दैन ।