काठमाडौँ। कप्तान ऋषभ पन्तमाथिको प्रतिबन्धसँगै इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स परााजित भएको छ। चिन्नास्वामी स्टेडियममा आइतबार सम्पन्न खेलमा दिल्ली रोयल च्यालेन्जर्स बेंग्लोरसँग ४७ रनले पराजित भएको हो।
यो हारसँगै दिल्लीको प्लेअफ आशा क्षीण भएको छ। खेलमा पन्तको अनुपस्थितिमा अक्षर पटेलले दिल्लीको कप्तानी गरेका थिए। उनले अर्धशतक बनाए। तर, बाँकी ब्याट्सम्यान चल्न नसक्दा दिल्ली पराजित भएको हो।
यो जितसँगै बेंग्लुरको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहेको छ। सनराइजर्स हैदराबादपछि गुजरात जायन्ट्स (दुई पटक) र पञ्जाब किंग्सलाई पराजित गरेको बेंग्लुरु १३ खेलबाट १२ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ।
पराजित दिल्ली समान खेलबाट १२ अंक जोड्दै छैटौँ स्थानमा झरेको छ। बेंग्लोरले दिएको १८७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो।
दिल्लीका कप्तान पटेलले सर्वाधिक ५७ रन बनाए। ३९ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। शाई होप २९ र जेक फ्रेजर मक्गर्क २१ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
बेंग्लोरका यश दयालले सर्वाधिक ३ विकेट लिए। लोकी फर्ग्युसनले २ विकेट लिँदा स्वप्रिल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनको नाममा १/१ विकेट रह्यो।
त्यसअघि ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनायो। बेंग्लोरका रजट पाटीदारले सर्वाधिक ५२ रन बनाए। ३२ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
विल ज्याक्स ४१ र विराट कोहली २७ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३२ रनमा अविजित रहे। दिल्लीका खलील खान र रसिख सलाहले २/२ विकेट लिए। इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवलको नाममा १/१ विकेट रह्यो।