काठमाडौँ। साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।
अन्तिम ६ खेलमा पुनरागमन गर्दै बेंग्लोर प्लेअफमा पुगेको हो। प्लेअफमा पुग्नेक्रममा बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नईलाई २७ रनले पराजित गर्यो।
बेंग्लोर आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली हो। यसअघि नै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।
चौथो स्थानमा रहेर लिग सक्काएको बेंग्लोरले ७ जितसहित १४ अंक जोड्यो। समान जितसहित १४ अंक रहेपनि चेन्नई पाँचौँ स्थानमा झर्यो। बेंग्लोरको नेटरननेट ०.४५९ रह्यो। यता, चेन्नईको भने ०.३९२ रह्यो।
चेन्नईले २०१ रन बनाएको भएपनि बेंग्लोर प्लेअफ दौडबाट बाहिरिने समीकरण थियो। तर, बेंग्लोरले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनाउन सक्यो।
चेन्नईका रचिन रविन्द्रले सर्वाधिक ६१ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। अजिंक्य रहाणे ३३ र महेन्द्रसिंह धोनी २५ रनमा आउट हुँदा रविन्द्र जडेजा ४२ र शार्दुल ठाकुर १ रनमा अविजित रहे।
चेन्नईका अन्यले ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। बेंग्लोरका यश दयालले सर्वाधिक २ विकेट लिए। ग्लेन म्याक्सवेल, मोहम्मद सिराज लौकी फर्ग्युसन र क्यारुन ग्रीनले १/१ विकेट लिए।
त्यसअघि एम चिन्नास्वामी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो।
बेंग्लोरका कप्तान फाफ डुप्लेसीले सर्वाधिक ५४ रन बनाए। ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर विराट कोहली ४७, रजन पाटीदार ४१, ग्लेन म्याक्सेवल १६ र दिनेश कार्तिक १४ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३८ रनमा अविजित रहे।
चेन्नघका शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ६१ रन खर्चिए। तुषार देशपाण्डे र मिचेल स्यान्टेनरल १/१ विकेट लिए।