काठमाडौं - खाना शरीरका लागी अत्यावश्यक मानिन्छ । तर हामीहरु भोक मेटेपछि खानाको महत्व बिर्सन्छौं । व्यक्तिले खाने सन्तुलित भोजनमा नै उसको सबैकुरा निर्भर रहन्छ । कुनै पनि खानाको स्वादको पछि लाग्नुभन्दा पनि त्यसले स्वास्थ्यमा पार्ने असरबारे अत्यन्त सचेत भएर सन्तुलित भोजन खान आवश्यक छ ।
हामीले दैनिक सुर्य उदय देखि सुर्य अस्ताउनजेल सम्ममा खाना खानु पर्ने हुन्छ । यदि समय परिस्थिती नमिलेको खण्डमा सुर्य अस्ताएको २ घण्टा पछाडिसम्म पनि खाना खान सकिन्छ । यो समय अवधिमा खाएको खानेकुरा पाचन प्रणालिले सहजै पचाउँ सक्छ । यो समयभन्दा ढिला खाना खाएमा पचाउँन गाह्रो हुन्छ । त्यसकारण हामीले माथि उल्लेख गरिएको समय अवधिमा नै खाने खाने बानी बसाल्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
नेपाली सामाजमा हेर्ने हो भने बिहान लाइट खानेकुराहरु खाने बेलुका हेबि खानेकुरा खाने गरिन्छ । त्यस्तै पार्टि गर्ने, साथिहरु भेटघाट गर्ने खानाहरु पनि त्यहि किसीमको हुन्छ तर यसरी खाना खानु स्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ । त्यसकारण खाना खाने समय अवधि हेर्नु पर्ने हुन्छ ।
बिराट मेडिकल कलेजमा कार्यरत आहार तथा पोषण बिद् ओम प्रकाश शाहले बिहान देखि साझँसम्म हामिले कस्तो खानेकुरा खानुपर्छ भन्ने कुरालाई यसरी प्रष्ट पारेका छन्ः
मानव पाचन प्रणाली सुर्यको किरण जस्तै बिहान नरम दिउँसो कडा र दिन ढल्दै जादाँ फेरी नरम हुदैँ जान्छ । बिहान एकैपटक हेबि खानेकुरा पचाउन गाह्रो हुन्छ । त्यसैले बिहान नरम खानेकुराहरु खानुपर्छ ।
बिहान खाने खाजालाई अग्रेजीमा ब्रेकफास्ट भन्ने गरिन्छ यसको अर्थ रातभरीको फास्टिङलाई ब्रेक गर्नु हो । बिहान सुरुमा कागति पानी, मह पानी, ज्वानो पानी , तातो पानीमा दालचिनी र अदुवा मिसाएर उमालेर पिउनु पर्ने हुन्छ । यसरी पानी पिउँदा ग्याष्ट्रिक सिस्टमलाई स्वस्थ्य बनाउँछ । त्यसपछि हल्का शारीरिक क्रियाकलाप गर्न सकिन्छ ।
शारीरिक क्रियाकलाप सकेपछि पाचन प्रणालीलाई पचाउन सजिलो हुने खानेकुरा खानुपर्छ । यो समयमा दुध ओट्स, नट्स, दुध ब्रेड, या फलफुल र एउटा अण्डा पनि खान सकिन्छ । बिहान खाजामा अघाउने गरी खानेकुरा खानुहुदैँन ।
नेपाली समाजमा बिहान उठ्ने बित्तिकै तेलमा तारिएको सादा वा क्रिम दुनोट, सेल तथा अन्य तयारी खाद्यवस्तु जस्तै विस्कुट लगायतका खानेकुरा खाने गरेको पाइन्छ । तर बिहान यस्ता खाद्यपदार्थ खानु स्वास्थ्यका हिसाबले हानिकारक हुन्छ ।
बिहान ढल्दै जादा पाचन प्रणाली पनि बलियो हुदैँ जान्छ । खाना खानु भन्दा आधा घण्टा अघि पानी खानुपर्ने हुन्छ ।
बिहानको १० बजेसम्म शरीरको पाचन प्रणाली सक्रिय भइसकेको हुन्छ । यो समयमा जस्तो खानेकुरा पनि पचाउन सक्ने क्षमता पाचन प्रणालीमा हुन्छ । बिहानको खानामा हेबि खानेकुरा जस्तै अन्न, दलहन, सागसब्जि, फलफुल र पशुजन्य यि चारै खाद्य समुहका खाने कुरा समाबेश गर्नुपर्ने हुन्छ ।
खाना खाइरहेको समयमा सकेसम्म पानी पिउनु हुदैँन । खाना खान असजिलो भएमा थोरै मात्रामा खान सकिन्छ । खाना खाएको १ घण्टा पछि मात्र पानी पिउनुपर्ने हुन्छ ।
दिउँसो १ देखि २ बजे सम्म फलफुल खानु राम्रो मानिन्छ । यो समयमा फलफुल खाएमा रुघाखोकी लाग्ने सम्भाबना कम हुन्छ । त्यस्तै ३ देखि ४ बजे भित्र खाजा खानुपर्ने हुन्छ । खाना खाने समयमा धेरै जसो व्यक्तिले मैदाबाट बनेको खानेकुरा मःम चाउमिन थुक्पा, समोसा जस्ता खानेकुरा खाने गरेको हुन्छन् तर यस्ता खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्ने गर्दछ । त्यसैले खाजाको रुपमा हामिले मकै भटमास जस्ता अन्न वा गेडागुडि समावेश भएका खाने कुरा खानु पर्छ । यो खाँदा काब्र्रोहाइडेट र प्रोटिन दुबै समाबेश हुन्छ । त्यस्तै चना चिउरा, क्वाटिसँग चिउरा रोटी, हलुवा, खिर लगायत दुधका अन्य परिकार बनाएर खान सकिन्छ ।
त्यस्तै बेलुका खाना ७ बजेभित्र खानु स्वास्थ्यका हिसाबले लाभदायी हुन्छ । दिन ढल्दै जादाँ पाचन प्रणाली फेरी नरम हुदैँ जान्छ त्यसैले बेलुकाको खाना नरम हुनुपर्छ । बेलुका जाउलो जस्ता गिलो खानेकुरा खानु उपयुक्त हून्छ । अन्यथा सादा दाल भात तरकारी खान सकिन्छ । तर हाम्रो समाजमा बेलुका गेट टुगेदर, पार्टि जस्ता क्रियाकलाप बढि हुने गर्छन् । त्यसंले राती १० ११ बजेसम्म हेबि खानेकुरा खाने गर्छन् ।
बेलुकाको खाना खाइसकेपछि १० १५ मिनेट हिडअुल गर्नुपर्छ । त्यसपछि एक गिलास दुध खाएर सुत्न सकिन्छ । दुध यस्तो खाद्यवस्तु हो जुन हाम्रो पाचन प्रणलीले सजिलै जतिबेला पनि पचाउँन सक्छ ।
हामी दिनभर काम गछौं , त्यो समयमा पाचन प्रणलीले पनि आफ्नो काम गरिरहेको हुन्छ । बेलुका हामिलाई आराम गर्ने समय आवश्यक हुदाँ पाचन प्रणलीलाई पनि आराम गर्ने समय आवश्यक पर्छ । बेलुका हेबि खाना खाएमा पचाउँनलाई कम्तिमा ६ घण्टा आवश्यक पर्ने हुन्छ । बेलुका ढिला र हेबि खाना खाएमा पाचन प्रणालीले आराम गर्ने समय नै पाउँदैन । बिहान उठ्दा इरिटेशन हुनेजस्ता समस्या हुने गर्छन् । हामिले आराम गरिरहेको समयमा हाम्रो शरीरले आराम गर्न नपाउँदा शररिमा विभिन्न समस्याहरु देखिन सक्छन् ।
चौविसै घण्टा शरीरले काम गर्दा रिपियर हुने समय पाउदैन त्यसैले स्वास्थ्यमा विभिन्न समस्याहरु देखिने गर्छन् । हामिले बेलुका खाने खाना २ देखि ४ घण्टामा पच्ने खानुकुरा खानुपर्छ । शरीरलाई आरामा मिल्दा शरीरमा क्रोनिक रोग, थाइरोइड, मधुमेह, क्यान्सर जस्ता रोगहरु लाग्न पाउँदैन ।
हाम्रो संस्कृति अनुसार व्रत बस्ने गरिन्छ । यो स्वास्थ्यको हिसाबले एकदमै राम्रो मानिन्छ । एक दिन फलफुलहरु मात्र खाँदा शरीरलाई आराम मिल्छ । त्यसैले हप्तामा एक पटक व्रत बस्नु स्वास्थ्यको लागी राम्रो मानिन्छ । साथै क्रोनिक रोग लाग्नबाट केहि हदसम्म रोक्ने गर्दछ ।
खानामा दलहन समुहबाट बोक्रासहितको खाने कुरा खानु राम्रो मानिन्छ । साथै हरियो साग सब्जि र सलाद पनि समाबेश गर्नुपर्ने हुन्छ । दलहन र साजसब्जि बराबर मात्रामा समाबेश गर्नुपर्छ । यसका साथै मांसाहारीका लागी २ देखि ४ पिस माछा, मासु लिन सकिन्छ । भने शाहाकारीका लागी पनिर थप्न सकिन्छ ।