गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।
शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए । सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका ४८ वर्षीय एक पुरुषको यही साउन १० गते निधन भएको उनले बताए ।
निर्देशनालयको तथ्याङ्कअनुसार तनहुँपछि कास्कीमा चार सय ८० जना, गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए । उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रुपमा फैलिएको बताए । समयमा नियन्त्रण गर्न नसके डेङ्गुले भयावह रूप लिन सक्छ उनको भनाई छ । उनले समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए ।
डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।