मकवानपुर- राजश्व दरमा अस्वभाविक बृद्धि गरेको विषयप्रति विरोध जनाउँदै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा राख्न माग गरेका छन् ।
उपमहानगरले चालू आर्थिक वर्षमा करको दरमा अस्वभाविक बृद्धि गरेपछि संशोधन गर्नुपर्ने एजेन्डासहित विशेष नगर सभाको माग गरिएको हो । बुधबार नेकपा एमालेका जनप्रतिनिधिहरूले विशेष अधिवेशनको माग गर्दै प्रमुख प्रशासकिय अधिकृत मार्फत् नगर प्रमुख र उपप्रमुखलाई निवेदन पेश गरेका हुन् ।
विशेष नगर सभा माग पछिको पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले नेपाल संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बागमती प्रदेश सरकारको गाउँ,नगर र जिल्लासभा सञ्चालन कार्यविधि र हेटौंडा उपमहानगरपालिकाको नगर सभा संचालन कार्यविधि २०७४ बमोजिम विशेष नगर सभा बोलाउन माग गरिएको बताउनुभयो ।
जनताको अभिमतद्धारा निर्वाचित जनप्रतिनिधिहरुको निर्णयले जनतालाई नै मारमा पर्ने अवस्था श्रृजना हुनु दुखद रहेको उहाँको भनाइ छ । नगरसभा आव्हान नगरिए हेटौंडा उपमहानगरपालिकाका सबै कार्यक्रम बहिस्कार गर्ने एमाले जनप्रतिनिधिले चेतावनी दिएका छन् । विशेष नगर सभा बैठक आव्हान पत्रमा ४८ सदस्यहरूले हस्ताक्षर गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका ९४ नगरसभा सदस्य रहेका छन् ।
व्यवसायीले दिए धर्ना
राजश्व दरमा अस्वभाविक वृद्धि गरेको विरोधमा मकवानपुरका व्यवसायीले हेटौँडा उपमहानगरपालिकामा धर्ना दिएका छन् । उपमहानगरपालिकाले राजश्व दरमा दुई सय पचास प्रतिशतसम्म वृद्धि गरेकोमा व्यवसायी आन्दोलित बनेका हुन् ।
पहिलो चरणको आन्दोलन अन्तर्गत बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म ब्यवसायीले धर्ना दिएका हुन् । वृद्धि भएको करको दर खारेज गर्न मागगर्दै उपमहानगरपालिकाको मूलगेट अगाडि ब्यवसायीहरुले नाराबाजी समेत गरेका थिए ।
हेटौँडा–२ स्थित पल्पसा सदनबाट र्यालीसहित ब्यवसायीहरु धर्ना दिन उपमहानगरपालिकाको मूलगेट पुगेका हुन् । भुकम्प, कोरोनाका कारण ब्यवसाय क्षेत्र शिथिल भएका बेला ब्यवसायीहरुको हितमा स्थानीय सरकारले काम गर्नुपर्ने समयमा अस्वभाविकरुपमा करको दर बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा ब्यवसायीहरु आन्दोलित भएका हुन् ।