अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गर्ने हमासले बताएको छ ।
अमेरिकाले ‘आतङ्कवादी’ समूह मान्ने हमाससँग गाजामा रहेका अमेरिकी बन्धकहरूलाई लक्षित गरी आकस्मिक प्रत्यक्ष वार्ता गरेको ट्रम्पको प्रशासनले खुलासा गरेको केही घण्टापछि ट्रम्पको यो चेतावनी आएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इजरायलसँग परामर्श भएको पुष्टि गर्दै प्रत्यक्ष वार्ताका बारेमा आफ्नो धारणा व्यक्त गरेको जनाएको छ ।
ट्रम्पले आफ्नो प्रशासनले अर्बौ डलरको हतियार छिटो उपलब्ध गराउने क्रममा आफूले इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक सबै कुरा पठाउने बताउनुभएको थियो ।
उहाँले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “सबै बन्धकहरूलाई अहिले रिहा गर्नुहोस्, पछि होइन, र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्नुहोस्, अन्यथा यो तपाईंको लागि ‘नारकीय’ बाटो हुनेछ ।”
उहाँले भन्नुभयो, “यो तपाईंलाई दिइएको अन्तिम चेतावनी हो ! हमास नेतृत्वका लागि अब गाजा छोड्ने समय आएको छ, तपाईंसँग अझै पनि मौका छ।”
ट्रम्पले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलको अथक सैन्य अभियानका कारण गाजाको सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको पनि बताउनुभएको थियो ।
“गाजाका जनताका लागिः एक सुन्दर भविष्यले पर्खिरहेको छ, तर यदि तपाईं बन्धकहरू राख्नुहुन्छ भने तपाईं सम्झनुस् परिस्थिति फरक हुनेछ । ठूलो क्षति व्यहोर्नुपर्नेछ ।”
हमासका प्रवक्ता हाजेम कासिमले ट्रम्पको शब्दले इजरायललाई जनवरी १९ देखि जारी युद्धविरामका शर्तहरूको अवहेलना गर्न प्रेरित गरेको बताउनुभयो ।
“यी धम्कीहरूले युद्धविराम सम्झौतासँग सम्बन्धित मामिलाहरूलाई जटिल बनाउँदछ र यसका सर्तहरू कार्यान्वयन गर्नबाट जोगिन कब्जालाई प्रोत्साहित गर्दछ,” कासिमले एक बयानमा भन्नुभयो ।
हमास नेता कासिमले भन्नुभयो, “हमास संयुक्त राज्य अमेरिकालाई युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्न इजरायललाई दबाब दिन आग्रह गर्दछ ।”