काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गरेर पदाधिकारी बैठक बोलाएको छ । तत्कालका लागि अभियान’ स्थगित गरिएकोले आज पार्टीको पदाधिकारी बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ प्रवक्ता सापकोटाको भनाइ छ ।
आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तथा तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्वसमेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
प्रवक्ता सापकोटाले आगामी चैत महिनाको सुरुआतदेखि पुनःअभियान सञ्चालन गरिने बताउनुभयो । झापाबाट सुरु भएको अभियान रौटहत पुगेर स्थगन भएको हो ।
अभियानअन्तर्गत भएका कार्यक्रमहरुमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित दलका केन्द्रिय नेताहरुले सम्बोधन गरिहनुभएको छ । पार्टीले आज पर्सा र भोलि चितवनमा गर्ने तय गरेको अभियानअन्तर्गतका कार्यक्रम तत्कालका लागि रोकेको हो ।