रुपन्देही- सहकारीको ठगी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । लामिछानेलाई यति एयरको विमानमार्फत् शनिबार भैरहवा ल्याइएको हो ।
गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक समेत रहनु भएका लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएपछि प्रहरीले लाछिानेलाई पक्राउ गरेको थियो ।
उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा राख्न आदेश गरेपछि प्रहरीले लामिछानेलाई शुक्रबार राति पक्राउ गरेको थियो ।
उहाँलाई यसअघि बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
आदेश चित्त नबुझेको भन्दै उहाँलाई पुर्पक्षका लागि थुनामै राख्न माग गरेर जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देही उच्च अदालतमा पुनरावेदनका लागि गएको थियो । यस्तै, लामिछाने भने धरौटी खारेजी गरी साधारण तारिखमा मुद्दा लड्न पाऊँ भन्दै पुनरावेदन गर्नु भएको थियो ।
उक्त निवेदनमाथि सुनुवाई गर्दै शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।
त्यसपछि पक्राउ परेका लामिछानेलाई भैरहवा ल्याएर जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । कारागार चलान गर्नुअघि अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक विदा पश्चात लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार (आज) र आइतबार (भोलि) सार्वजनिक विदा रहेकोले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लामिछानेलाई एयरपोर्टबाट सिधै जिल्ला प्रहरी कार्यालय लगेर हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडि उपस्थित भएका रास्वपा नेताकार्यकर्ताले भने अदालतको आदेशलाई आफूहरुले सम्मान गर्ने तर राज्यले दमन गरी प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको जनाउँदै भरतपुरमा हुने आमसभालाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् ।
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ परेर अदालतको आदेशले पुर्पक्षका लागि कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ । छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । स्रोतका अनुसार सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको छ । दुवै ब्लकमा एकै प्रकारको सुविधा भए पनि ब्लक नं. २ तुलनात्मक रुपमा केही फराकिलो छ । गर्मीको समयमा अलि बढी हावा चल्ने र भित्रको स्पेस पनि केही खुल्ला भएकाले रवि र छविलाई एकै ब्लकमा राख्ने सम्भावना छ ।