काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरले एक वर्षकै पारिश्रमिक पाउने भएका छन् ।
सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीसँग ६ महिनाको सम्झौता गरेपनि क्यानले एक वर्षकै पारिश्रमिक उपलब्ध गराउने भएको हो ।
क्यानका कोषाध्यक्ष रोशन सिंहले महिला र पुरुष खेलाडीलाई एक वर्षकै पारिश्रमिक उपलब्ध गराउन लागिएको जानकारी गराए । उनले खेलाडीको पारिश्रमिक स्वरुप आईसीसीबाट एक वर्षकै रकम उपलब्ध भईसकेको बताए ।
पहिलो पटक महिला खेलाडीलाई क्यानले आफ्नो सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । असोज ६ गते क्यानले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा महिला तथा पुरुष दुबै तर्फका खेलाडीको सम्झौता ६ महिनाको रहने जनाएको थियो । तर, क्यानले महिला र पुरुष खेलाडीलाई एक वर्षकै पारिश्रमिक दिन लागेको हो ।
‘हामीले पुरुष र महिला खेलाडीलाई एक वर्षकै पारिश्रमिक दिन लागेका हौ,’ क्यानका कोषाध्यक्ष सिंहले भने, ‘यसका लागि हामीले धेरै मेहनत गरेका छौँ । कोरोनाका बेला खेलाडीलाई मार पार्नु हुन्न भनेर हामीले आईसीसीसँग धेरै प्रस्ताव गर्यो र खेलाडीको एक वर्षकै पारिश्रमिक सम्भव भएको हो । अन्य देशमा कोरोनाका कारण खेलाडीको पारिश्रमिकमा कटौती गरिएको थियो ।’
उनले महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट असोजमा मात्रै सार्वजनिक भएपनि २०२० को सुरुवातमै भइसक्नु पर्ने जानकारी दिए । उनले सुरुवाती समयमा केही प्राविधिक कारण ढिलाई भएको र त्यसपछि कोरोना महामारिका कारण सुरुवातमै क्यानले महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट गर्न नसकेको बताए ।
‘महिला र पुरुष खेलाडीले २०२० को पारिश्रमिक पाउने छन् । पुरुषको पहिले देखिनै सेन्ट्रल कन्ट्रयाक्टमा रहेपनि महिला खेलाडी भने यसै वर्षको मध्ये तिर क्यानले आफ्नो कन्ट्रयाक्टमा राखेको थियो,’ उनले भने, ‘तर, हामीले महिला खेलाडीलाई पनि २०२० को सुरुवातमै वर्गीकरण गरेर अईसीसीलाई पठाइसक्नु पर्ने थियो । तर, सुरुवातमा केही समस्या र पछि कोरोनाले गर्दा त्यो कार्य गर्न सकेनौं । अहिले हामीले आईसीसीलाई एक वर्षकै प्रस्ताव गरेर पाश्रिमिक दिन लागेका हौ ।’
गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक २२ महिला खेलाडीको वर्गीकरण गरेको थियो । महिला खेलाडीलाई क्यानले 'ए' , 'बी’ र 'सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।
महिलातर्फ 'ए' श्रेणीका खेलाडीले १५ हजार, 'बी' ले १२ र 'सी' श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन् ।
पुरुषतर्फ 'ए' श्रेणीको खेलाडीले ५० हजार, 'बी' श्रेणीको खेलाडीले ४० हजार र 'सी' श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् ।
पछिल्लो सम्झौतामा क्यानले पुरुष खेलाडीको पारिश्रमिक भने बढाएको थियो । क्यानले यसअघि पाउँदै आएको पारिश्रमिकमा ५ हजार रुपैया बढाएको हो ।
सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची -
पुरुष -
'ए' श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,
'बी' श्रेणी: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा
'सी' श्रेणी: सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा
महिला -
'ए' श्रेणी: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी
'बी' श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी
'सी' श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी