नेपाली समाजमा परापूर्वकाल देखि नै श्रीमान र श्रीमतीलाई एक रथका दुई पाग्रा हुन भन्ने गरिन्छ । त्यसैले विवाह पछि श्रीमान र श्रीमती एक अर्काको सुख दुखको भागिदार हुन्छन् ।
विवाह त्यो सम्बन्ध हो जसले दुई व्यक्तिलाई मात्र नभई दुई परिवारलाई जोड्छ । त्यसैले विवाहित जोडिहरुमा दुई परिवारको हेरचाह देखि बंशज अगाडि लैजाने अर्थात सन्तान जन्माउने जिम्मेवारी पनि हुन्छ । तर कुन समयमा र कतिवटा सन्तान जन्माउने भन्ने दम्पतीको नितान्त व्यक्तिगत बिषय हो । हाम्रो समाजमा विवाह भएको १ वर्ष कट्न नपाउँदै खोइ त बच्चा, कहिले हो दुईबाट तिन हुने, कि सधैँ यत्तिकै बस्ने बिचार छ ? जस्ता प्रश्नको सामाना नगर्ने दम्पती सायदै कमै होलान ।
विवाहको अर्थ यो होइन कि सन्तान जन्माइ हाल्ने हरेक दम्पतीको आ-आफ्नै भविष्यका योजनाहरु हुन्छन् । हाम्रो समाजमा गरिने यस्ता प्रश्नहरुले कतिपयलाई नकारात्मक असर परिरहेको हुन्छ । यस्ता प्रश्नहरुको सामना पुरुषले भन्दा पनि महिलाले धेरै गर्नुपर्ने हुन्छ । जसका कारण उनिहरुको मानसिक स्वास्थ्यमा असर पर्न जान्छ ।
अहिलेको आधुनिक समाजमा हरेक व्यक्ति सम्पन्न बन्न खोजिरहेका हुन्छन् । त्यसपछि मात्र अभिभाबक बन्न चाहन्छन् । त्यसैले योजनाबद्ध तरीकाले सन्तान जन्माउने गरेको पाइन्छ । भने केहि दम्पतीले चाहादा चाहादै पनि बच्चा नबसेको हुन सक्छ । अहिलेको अवस्थामा हामीले यस्ता धेरै समस्याहरु देखिरहेका छौं । हाम्रो समाजमा अझै पनि बच्चा नजन्मनुमा महिला नै दोषि हो भन्ने धारण कायमै छ । बच्चा नजन्मेकै कारण महिलालाई सम्बन्ध बिच्छेद गर्न दबाब दिने वा पुरुषको दोस्रो विवाह गरिदिएका घटनाहरु हामिले देख्दै आइरहेका छौं । यस्तै केहि घटना हामिले यहाँ प्रस्तुत गरेका छौः
घटना एक
सिन्धुपाल्चोककी कुमारी राई (नाम परिर्वतन) को विवाह एस.एल.सि दिने बित्तिकै भयो । उनीको विवाह भएको एक महिना पछि उनको देवर र देउरानीको पनि विवाह भयो । केहि समयपछि उनकी देवरानी गर्भवती भइन् । त्यसबेला उनी र उनका श्रीमानले सन्तान केहि समयपछि जन्माउने योजना बनाएका थिए । उनको पढ्ने इच्छा थियो भने उनका श्रीमानले आर्थिक अवस्था सुधार्न चाहेका थिए । तर उनको परिवारले उनिहरुको योजनालाई गलत अर्थ लगाउदै कुमारीमा नै खोट छ त्यसैले अहिलेसम्म बच्चा जन्मेको छैन भन्ने निष्कर्षमा पुगे । त्यसैले उनीलाई परिवारले दुईवटा विकल्प दिए एक छिट्टो सन्तान जन्माउनुपर्ने अर्को श्रीमानसँग सम्बन्ध बिच्छेद गर्नुपर्ने । उनका लागि यी दुबै विकल्प असह्यै थिए । श्रीमानलाई पनि उनले नसम्झाएकी होईनन् तर परिवारको सर्तको बिच कुमारीको केहि चलेन आफ्ना सपनाहरुलाई मार्दै अन्तत: उनले सन्तान जन्माउनै पर्यो ।
घटना २
काठमाडौंकी कर्मु तामाङ (नाम परिर्वतन) को विवाह भएको ३ बर्ष पुग्नै लाग्यो । उनका श्रीमान विदेशमा बस्छन् उनी नेपालमा । उनिहरुको भेट ६ महिनाको अन्तरालमा हुन्छ । उनका श्रीमान २०/२२ दिनको छुट्टिमा नेपाल आउँछन् । उनीसँगै विवाह भएको साथीको सन्तान भइसके उनिहरुलाई पनि सन्तानको चाह छ । तर ६ महिनाको अन्तरालमा श्रीमान आउँदा सन्तान जन्माउने योजना बनाए पनि गर्भ बसिरहेको छैन । उनको श्रीमान नेपाल आएपिच्छे परिवारमा बुहारी गर्भवती भईन होला भन्ने आशा राख्छन तर फेरि त्यो आशा निराशामा परिर्वतन हुन्छ । केहि दिन पहिला मात्र उनका श्रीमान विदेशबाट आए उनि बिदेशबाट आउँनु भन्दा पहिलाबाट नै कर्मुको परिवारले यो पटक त मलाई नाति चाहिन्छ भनेका थिए । कर्मुलाई पनि आमा बन्ने ईच्छा नभएको भने पक्कै होइन । उनिहरु दुबै जना बच्चा चाहान्थ्ये त्यसैले कर्मुका श्रीमान विदेशबाट आएपछि दुबै जना अस्पताल पुगेका थिए । अस्पतालमा जाचँ गर्दा दुबै जनामा समस्या देखाउँदै केहि उपचारपछि निको हुने आश्वासन दिए । यो पटक पनि उनि गर्भवती नभएपछि परिवारले विभिन्न तरहका कुराहरु बनाउन थाले त्यसैले अहिले कर्मु माईतमा बस्न बाध्य भएकी छिन ।
उनी पनि आफुबाट सन्तान हुदैनकी भनेर हतोत्साहि बनेकी छिन् । यस्तो अवस्थामा उनीलाई परिवारको साथ हौसलाको एकदमै जरुरी हुन्छ । परिवारको साथ नपाउँदा उनी सधैं जसो उदास भएर एक्लै बस्न रुचाउँछिन् ।
घटना ३
नेपालगञ्जकी मैंया पन्त (नाम परिर्वतन) को आज भन्दा करिब २१ वर्ष पहिला कक्षा ८ मा पढ्दा पढ्दै सानै उमेरमा विवाह भयो । उनका श्रीमान शिक्षित भएकाले विवाह पछि उनलाई पढाउने सर्त राख्दै विवाह गरे । तर बुहारीलाई पढाउने विषयमा परिवार सहमत भएनन् । मैंयाका श्रीमानले घरपरिवारमा श्रीमतीलाई पढाउने कुरा राख्दा परिवारले आपत्ति जनाउँदै बरु सन्तान जन्माउने सल्लाह दिए । परिवारको कुरालाई टाल्न नसकेर उनले सन्तान जन्माउने योजना बनाए पनि ४ बर्षसम्म भएन् । मैंयालाई अनेकौं लाच्छना लगाउँदै परिवारका सदस्यहरुले यो बाझिं छे यो बाट सन्तान हुदैँन भनेर परिवारमा अर्की बुहारी खोज्न थाले । एक त बच्चा बनाउन खोज्दा नभइरहेका अवस्थामा परिवारले यस्ता क्रियाकलाप गर्दा मैंयाले मानसिक समस्याबाट गुज्रिनु पर्यो । तर श्रीमानको साथ र सहयोगले धेरै औषधि उपचार गर्दा अन्तत केहि समय पछि उनि आमा बनिन ।
घटना ४
धनगढि सपना गिरी (नाम परिर्वतन) को विवाह भएको ७ बर्ष भयो । उनी र उनको श्रीमानलाई सन्तानको चाह छ तर गर्भ बसिरहेको छैन । उनी के कारणले गर्भ रहेको छैन बुझ्न चाहन्छिन तर श्रीमान अस्पताल जान मान्दैनन् । उनका परिवारले आफ्नो छोरोमा केहि पनि खराबि नभएको र स्वंम श्रीमानले पनि आफुमा केहि पनि खराबि नभएको भन्दै दोष जति श्रीमतीमा देखाउदै जाचँ गर्न जान्नै मान्दैनन् । एक्लै अस्पताल जाँदा बिशेषज्ञहरु श्रीमान लिएर आउँनु भन्दै सपनामा त्यस्तो कुनै खराबी नभएको बताउँछन् । तर उनका श्रीमान जति सम्झउँदा पनि मान्दैनन । श्रीमानको व्यवहारमा विस्तारै परिवर्तन आएको सपनाले महसुस गरेकी छिन् । बच्चा नभएकै कारण सपनालाई अनेकोैं दोष देखाउँदै शारिरीक र मानसिक तनाव दिईरहेका छन् । सपनालाई एकातिर सन्तान नहुनुको पिडा छ भने अर्को तिर श्रीमान टाढिदै गईरहेको अर्को तनाव भोग्नु परेको छ।
कुमारी, कर्मु, मैंया र सपना केहि उदारणिय पात्र मात्र हुन् । उनिहरुले जस्तै यो समस्या धरैजसो दम्पतीले भोगेका छन् । तर हाम्रो समाजमा बच्चा नजान्माउनुमा महिलाकै कमजोरी हुन्छ भन्दै उसलाई शरीरिक र मानसिक तनाव दिइरहेका हुन्छन् ।
सन्तान कहिले जन्माउने कति ओटा जन्माउने, कति समयको अन्तरालमा जन्माउने यो एक दम्पतिबिचको व्यक्तिगत कुरा भए पनि यसलाई परिवारको मान प्रतिष्ठासँग जोड्ने गरिन्छ । कति दम्पति परिवार, आफन्त वा समाजको दबाबमा आएर आफ्नो भबिष्यको ख्याल नगरी सन्तान जन्माउन बाध्य भएका छन् ।
पुरुषमा पनि हुन्छ बाझोपना
हाम्रो समाजमा बच्चा नजन्मनुमा अझै पनि महिलालाई नै दोष दिइन्छ तर यो नितान्त गलत कुरा हो । मेडिकल विज्ञानले पनि यो कुरा सावित गरिसकेको छ कि महिला गर्भवती नहुनुमा उनको श्रीमानको पनि उत्तिकै हात हुने गर्दछ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रंगिना लाइकङ्गबमका अनुसार, बाझोपना महिलामा मात्र हुन्छ भन्ने हुदैँन । पुरुषमा पनि थुप्रै कारणले बाझोपना भएको हुनसक्छ । हामी प्रविधिक युगमा छौं । सन्तान हुदैन भनेर कोहि दम्पति पनि हतोत्साहि हुनु पर्देन । विभिन्न तरीकाहरु अपनाएर सन्तान प्राप्त गर्न सकिन्छ ।
सन्तान प्राप्तिको उपाय
डा रंगिनाका अनुसार, परिक्षण गराउँदा समस्या देखिएमा त्यसको उपचार गर्दा सन्तान हुने सम्भाबना हुन्छ । भने थाहा नभएका कारणहरुमा विभिन्न पुस्तक र अनुसन्धानका अनुसार परिक्षण गरिसक्दा पनि गर्भ नरहेमा केहि समस्या उत्पन्न हुन्छ । यस्तो केशमा सुरुवातमा ओभुलुसन इन्डक्सन, औषधि र सुइबाट नै कोसिस गर्नुपर्ने उनले बताइन । उनी भन्छिन्, यो प्रकृया ३ देखि ४ पटक गरेर पनि केहि भएन भने आई. ओ. आई गर्नुपर्छ । आई. ओ. आई पनि ३ देखि ६ पटक भन्दा बढि गर्नुहुदैँन । यदि यो प्रकृयाबाट पनि गर्भधारण भएन भने आइ. भि. एफ गर्न सकिन्छ ।
दबाबले महिलाको मानसिक स्वास्थ्यमा पर्ने प्रभाब
हाम्रो समाज सन्तान नहुने दम्पतिलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । कुनै स्थानमा महिलालाई बच्चा नजन्माएको भनेर शारीरिक यातना दिने बलपुर्वक सम्बन्ध बिच्छेद गराउने अर्को विवाह गरिदिने जस्ता घटना पनि घटिरहेका छन् ।
त्यस्तै सन्तान प्राप्त गर्ने आशामा दोस्रो विवाह गर्दा पिडित महिलाको मानसिक स्वास्थ्यमा असर सक्छ । जसका कारण उनिहरु तनावग्रस्त भई डिप्रेशनको शिकार हुन पुग्ने मनोविद् गोपाल ढकाल बताउँछन् । उनि भन्छन्, शिक्षित महिला भएपनि सन्तान नभएपछि आफुलाई कमजोर महशुस गनुृको साथै आत्मविश्वास कमजोर भएर आत्महत्याको प्रयास पनि गर्न सक्छन् ।
त्यस्तै, हाम्रो समाजमा धार्मिक अन्धविश्वासले पनि उतिकै जरो गाडेर बसेको छ । सन्तान नभए अझै त छोरा नभए स्वर्ग जान नपाइने जस्ता भनाईहरु पनि प्रचलित बनाइएको छ । यो सोचमा परिर्वतन आउन जरुरी छ ।
कहिले जन्माउने सन्तान ?
पछिल्लो समय योजनबद्द तरिकाले जिवन जिउने दम्पतीहरु धेरै छन् । त्यसैले केहि दम्पती शारीरिक रुपमा सक्षम भएर पनि सन्तान नजन्माइरहेका हुन्छन् । भने परिवारको अन्य सदस्यले सन्तान जन्माउन दबाब दिएमा कलह भइरहेको हुन्छ । दम्पतिले आफ्नो करिअर बनाएर मात्र सन्तान जन्माउने अथवा आर्थिक रुपमा बलियो भएपछि मात्र सन्तान जन्माउने योजना बनाइरहेका भए परिवारले यसलाई सकारात्मक रुपमा लिन जरुरी छ ।
सन्तान जन्माउन असक्षम भए के गर्ने ?
केहि दम्पति शारीरिक रुपमा असक्षम भएर सन्तान भइरहेको हुदैँन यस्तो अवस्थामा दम्पतिले एक अर्कालाई बुझ्न एकदमै जरुरी हुन्छ । साथै परिवारले गालि गलोच गर्ने भन्दा पनि उनिहरुको भावनालाई बुझ्नु जरुरी हुन्छ । साथै उनिहरुलाई हौसला र सान्त्वना दिनुपर्छ ।
कति बालबालिकाहरु अभिभाबक बिहिन संरक्षणको अभाबमा हुन्छन् । धेरै समय सन्तान जन्माउने योजना बनाएपनि नभएमा संरक्षणको अभावमा रहेका बालबालिकालाई गोद लिन सकिन्छ । यसो गरेमा ति बालबालिकाको पनि उद्धार हुन्छ । हरेक दम्पतिले यो धारणाको विकास गर्नुपर्छ ।
’
महिला स्वास्थ्य