नेपालमा आज एकैदिन विभिन्न ४ पर्व परेका छन् । आज उधौली पर्व, तमु ल्होसार, धान्यपूर्णिमा पर्व र नेवार समुदायले योमरी पूर्णिमा धुमधामका साथ मनाइरहेका छन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामका साथ मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।
किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
यस्तै, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको भनाइ छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्बदन्ती पाइन्छ ।
यस्तै, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।
कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरी धान्य पूर्णिमा पर्व मनाउँछन् । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनु भयो ।
यस्तै, नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदै छन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन आज सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने परम्परा छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।