एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
क्राइसचर्चमा मंगलबार दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा कप्तान टम लाथमले शतकीय इनिङ्स खेले । उनले १०८ बलको सामना गर्दै १० चौकाको मद्दतमा अविजित १ सय १० रन बनाए ।
त्यस्तै डेभन कनवेले ७२ रनको योगदान दिए । उनले ९३ बलमा ७ चौका प्रहार गर्दै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स निसमले ३०, मार्टिन गुप्ताले २०, हेन्री निकोलसले १३ रनको योगदान दिँदा ड्यारिल मिचेल १२ रनमा अविजित रहे ।
बलिङतर्फ मुस्ताफिजुर रहमान र मेहेदी हसनले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ किवेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो । बंगलादेशका लागि तामिम इकवलले सर्वाधिक ७८ रन जोडे । उनले १०८ बलको सामना गर्दै ११ चौकामा ७८ रनको अर्धशतकीय इनिङ खेलेका हुन् ।
त्यस्तै मोहम्मद मिथुनले अविजित ७३ रन जोडे । उनले ५७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७३ रन जोडे । मुस्फिकर रहिमले ३४, सौम्य सरकारले ३२ र महमुदुल्लाहले १६ रन जोडे ।
बलिङतर्फ मिचेल स्टानरले दुई विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट, म्याट हेनरी र केली जेमिसनले एक एक विकेट लिए ।