काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपालले अहिले किर्गिस्तानको यू-२३ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि नेपालले गोल गर्न सकेन । किर्गिस्तानले भने नेपालीविरुद्ध उत्कृष्ट पोस्ट आक्रमण गर्न सकेन ।
खेलको चौंथो मिनेटमा तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको दशौँ मिनेटमा त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको हेड समेत पोस्ट नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउन चुकेको थियो ।
खेलको १४ औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लाग्दै फर्किदा नेपाल पुन अग्रता बनाउन चुकेको थियो ।
खेलको ३३ औं मिनेटमा रबी पासवानको पासमा अन्जनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यमा रहेको छ । नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ ।
किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ ।
मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।