एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मार्क्विन्होसले एक गोल थपे ।
बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए ।
बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए ।
खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।
६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए ।
यस जितसँगै पीएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।
गत सिजन पीएसजीलाई १-० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो ।
यो जितपछि पीएसजीले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ । बायर्नले भने दोस्रो लेगमा पुनरागमन गर्नु पर्नेछ ।
पीएसजीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।