एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे ।
विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए ।
यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए । इशान किशन १२ रनमा आउट हुँदा सुर्य कुमार यादवले १० रन बनाए ।
हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए ।
जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मुम्बईले ३ खेलमा ४ अंक जोडेको छ ।
हैदरावादको यो लगातार तेस्रो हार हो ।
हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।