एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
'बीसीसीआई खेलाडीहरु, सहयोगी स्टाफ र आईपीएल आयोजनामा सहभागी अन्य सहभागीहरुको सुरक्षामा सम्झौता गर्न चाहँदैन,' विज्ञप्तिमा भनिएको छ, 'यो निर्णय सबै सरोकारवालाहरुको सुरक्षा, स्वास्थ्य र हितलाई ध्यानमा राखेर गरिएको हो ।'
पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।
कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो ।
चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो ।
त्यस्तै सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
जारी प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।