काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकासँग आग्रह गरेका छन् ।
विश्वव्यापी रुपमा खोपको उत्पादन बढाउने उपायहरुलाई लिएर युरोप र अमेरिकाबिच मतविभाजित भएका बेला म्याक्रोँले निर्यात प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन् ।
विश्वभर अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब २५ करोड मात्रा लगाइएको छ । तर समाचार संस्था एएफपीका अनुसार विश्वका सबैभन्दा गरिब २९ देशमा त्यसको एक प्रतिशत भन्दा कम मात्रै खोप दिइएको छ ।
धनी देशहरुमा भने खोप अभियान तीव्र गतिमा चलिरहेको छ । बेलायतमा ६७ प्रतिशत वयश्क नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । अमेरिकामा खोपको पहिलो मात्रा लगाउनेको संख्या योग्य जनसंख्याको ५६ प्रतिशत पुगेको छ ।
शुक्रबार युरोपियन युनियनले फाइजर–बायोएनटेकको खोपको ९० करोड मात्रा किन्ने सहमति गरेको छ । यस्तै थप ९० करोड मात्रा किन्ने विकल्प पनि खुला राखिएको छ ।
विश्वव्यापी रुपमा खोपको उत्पादन बढाएर महामारी नियन्त्रणका लागि विभिन्न विकल्पमा छलफल भरहेका बेला दक्षिण अफ्रिका र भारतको पहलमा सुरु भएको खोपलाई बौद्धिक सम्पती अधिकारको दायराबाट मुक्त गर्ने अभियानमा अमेरिकाले आफ्नो समर्थन जताएको छ । तर जर्मनी भने त्यसको विपक्षमा उभिएको छ ।
यहि बिचमा फ्रान्सका राष्ट्रपति म्याक्रोँले अमेरिकाले खोपको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन् । उनले उत्पादन र निर्यात बढाउनु नै महामारी नियन्त्रणका लागि उपयुक्त उपाय रहेको बताए ।
खोप मात्रै नभएर खोप उत्पादनका लागि चाहिने सामग्रीको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्नु पर्ने म्याक्रोँको भनाई छ । अहिलेसम्म अमेरिकामा उत्पादित शतप्रतिशत खोपहरु अहिलेसम्म अमेरिकामै प्रयोग भएको उनले बताए।
अमेरिकाले आफूसँग मौज्दात रहेको एस्ट्राजेनेका खोप आउँदा महिनामा अरु देशलाई दिने बताएको छ ।
म्याक्रोँले बेलायतसँग पनि खोपको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रतिबन्ध नलगाएको दाबी गरे पनि अहिलेसम्म बेलायतबाट बाहिर खोप जान दिइएको छैन ।