सिन्धुपाल्चोक - चराहरुको चिरबिर आवाजले साँझ पर्न लागेको संकेत दिदै थियो । त्यहि समय एक्कासि अनौंठो गड्यामगुडुम आवाज आयो । केहि बेरमा नै हाम्रो घर अगाडि बरिपरीका मान्छेहरु भेला भए । सबै अलमल्ल थिए यो कस्तो आवाज हो, यस्तो आवाज त कहिले सुनेका थिएनौं, के को आवाज होला सबैमा यहि जिज्ञासा थियो । तर के को आवाज हामीले थाहा पाउन सकिरहेका थिएनौं ।
केहि बेरमा तिम्बुबाट खोला बढेर बाढी आएर चनौटे बजार बगर बनायो रे चनौटेबासीको भागाभाग छ रे भन्ने खबर लिएर पल्लो घरको बहिनी आइन् । ति बहिनीलाई चनौटेमा गएको उनको दाईले खबर दिएको रहेछ । मैले हत्तपत्त चनौटेमा व्यवसाय गरेर बस्नुभएको हाम्रो काका (बुबाको सानीमा छोरा) को रिसोर्ट के भयो ? काकाहरु कहाँ हुनुहुन्छ भनेर सोधे । ति बहिनीले रिर्सोट त सबै बगायो रे मान्छे चाहि खोई भनि । मेरो हात खुट्टा काम्न सुरु गरे । भगवान काकालाई केहि नहोस भनेर हात जोडे फेरि हत्तपत्त काकालाई फोन लगाए । काकाले फोन उठाउनुभएन त्यसपछि म झन आत्तिए । बुबालाई काकाले फोन उठाउनुभएन भने । बुबाले नराम्रो नसोच भाग्दै होलान फोन गरिराख भन्नुभयो । दोस्रो पटक फोन गर्दा झन फोन नै लागेन । काका र म क्लासमेट । हामीबिच काका भतिजी मात्र नभई साथीको सम्बन्ध पनि थियो । हाम्रो बालापन र स्कुले जिवन सँगै बित्यो । ति सबै यादहरु मेरो आँखा वरीपरि घुम्न थाले । म काकासँग बिताएको त्यो समय सम्झेर आफुभित्र हराई रहेको थिए ।
एक्कासी मोबाइलको घण्टि बज्यो, म झस्किए, मोबाइल हेर्दा काकाले कल ब्याक गर्नुभएको रहेछ । त्यत्तिबेला मेरो खुशिको सिमा रहेन । तर म के भनेर बोलु मसँग कुनै शब्द थिएन त्यसैले मैले बुबालाई फोन दिए । बुबाले अतिदै कहाँ छौ भनेर सोध्नुभयो बुबाले सुरक्षित ठाउँमा गएर बस् भन्दै हुनुहुन्थो फोन काटियो । अफ्ठ्यारोमा नेटवर्कले पनि साथ दिएन भनेर बुबाले मेरो हातमा मोबाइल थमाउदै काका रोएको जस्तै छ भन्नुभयो । काका (बुबाको भाई) ले त्यसो भए जाउँ चनौटे अफ्ठ्यारोमा परेको बेला सहयोग गर्नुपर्छ, कति मान्छे अलपत्रमा परेका होलान जाउँ भन्नु भयो ।
त्यतिबेला सिमसिम पानी परिरहेको थियो बुबा र काका छाता खोजेर चनौटेतर्फ लाग्नुभयो भाई पनि बुबाहरुको पछि लागेर गयो ।
खोलाको आवाज कम होला भन्दा झन् बढिरहेका थियो । हामी पल्लो घरको आँगनबाट पारी पट्टि गणेशको बगरमा नियाल्न थाल्यौ । टर्च बालेर मानिसहरु आइरहेका थिए । यो दृश्य देखेपछि रातको समय सिमसिम पानी बालबच्चा, बृद्धबृद्धा लिएर कसरी रात कटाउँलान कठै भनेर मुमा बर्बराउन थाल्नुभयो ।
साझँ देखि सुरु भएको बाढीको गडगडाहट कम होला भन्दा झन ठूलो सुनिरहेको थियो । हाम्रो घर अघि भेला भएका मानिसहरु कोहि चनौटे लागे त कोहि आफ्नो घर तर्फ लागे । मानिसहरु आ आफ्नो घर गएपछि मनमा डर लाग्यो ।
भाइलाई फोन गरे लागेन । छटपटिमा बसिरहेको थिए साढे १० बजेतिर बुबा र भाई घर फर्कनुभयो । बुबालाई धेरै ठुलो बाढी आएछ भनेर सोधे उहाँले लामो सास फेर्दै बजार बगाएर बगर बनाएछ । मान्छे पनि धेरै पो बेपत्ता भए रे भन्नुभयो । मैले फेरि त्यहाँको अवस्थाबारे सोध्न खोज्दा बुबाले सुत अब भोली बिहान गएर आफै हेर्नु भन्नभयोे ।
बाढीको त्यो भयाबह गडगडाहट सुनेर सायद त्यो रात कसैलाई निन्द्रा परेन होला । म पनि रातभर निदाउन सकिन । मोबाइल हेरे ब्याट्रीको चार्ज ३५ प्रतिशत देखायो । चनौटे बजारका साथीलाई फोन गरेर केही थाहा पाइन्छ जस्तो लाग्यो । मसँग नमस्ते र एनसेलको दुवै सिम थिए तर बढी प्रयोग नमस्ते नै गर्थे । नमस्तेमा नेटवर्क थिएन् । एनसेलमा बेलाबेला आउने जाने भइरहेको थियो । नेट चलाउन सकिन । त्यो रात अरु रात भन्दा निकै लामो लागिरहेको थियो । सायद म भोली बिहानको पर्खाइमा भएर यस्तो महशुस भएको हुन सक्छ ।
बिहान छतमा गएर हेरे चनौटे जानेको लर्को थियो । गाउँका मानिसहरु घरधन्दा नै छोडेर बाढिको बितण्ड हेर्न लम्किरहेका थिए । बैनिहरुसँग म पनि बाढिको बितण्ड हेर्न गए ।
हेलम्बु गाउँपालिकाको व्यापारिक केन्द्रबिन्दु चनौटे बजार बाढीले सोत्तर नै पारेछ । त्यहाँ रहेका कत्तिको घर, व्यवसाय सबै बगर बनाएछ । पछिल्लो समय हेलम्बुमा माछापालन निकै फस्टाएको थियो । माछापालन व्यवसायी माछालाई सुरक्षित राख्न जाँदा बाढीले नै लगेछ । लाखौ करौडाका मालिक छिनभरमै सडकमा आए । खेती योग्य जमिन सबै बगर भयो । तिम्बु देखि चनौटेसम्मको सडक पनि विच्छेद भयो । चिउरीखर्कको मगरबस्तीका सबै घर र खेतहरू बाढीले बगाएछ । यस्तो भयाबाहक स्थिति देखेर हेर्न जाने सबैको मन दुखेको थियो ।
चनौटेबासी असार २ गते दिउँसो बाढीले बाकी राखेको घर भित्रको सामान निकाल्न कोसिस गरिरहेका थिए । ति प्राय मानिसको खुट्टामा चप्पल थिएन । अनुहार हेर्दा एकदमै त्रसित देखिन्थ्यो । कत्तिले घरको केहि सामान निकाल्न पाए भने कत्तिले घरको केहि नासान समेत देखन पाएनन् ।
असार १ गते साझँको बाढीले चनौंटे र मेलम्चीका व्यवसायीहरुलाई ठूलो जनधनको क्षति गरायो । त्यस्तै, खोलाबाट सय मिटर माथि बनाएका १२० भन्दा बढि घर पबि बाढिले सबै बगायो ।
प्रकृतिले सिन्धुपाल्चोकलाई पटक पटक ठगिरहेको छ । हामी भूकम्प, बाढिपहिरो जस्ता विभिन्न प्राकृतिक बिपत्तिसँग पटक पटक लडिरहेका छौं। भुकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकका नागरिक तङगरिन नपाउँदै फेरि बाढिको बितण्डा आयो ।
सहयोगी हात
बाढीको भोलिपल्ट नै सहयोगी मनहरु राहत लिएर पुगे तर जो बढि समस्यामा थिए उनीहरु राहतबाट बञ्चित थिए । सेवा भावले राहत प्रदान गर्नु राम्रो हो तर समस्यामा परेकाको पहिचान नगरी राहत वितरण गर्दा मर्कामा परेकालाई नभई अन्य व्यक्तिले फाइदा उठाउँने गरेको देखियो ।
बर्षातको सुरुमा नै आएको बाढीले सबैलाई चकित पारेको छ । अन्य बर्षको तुलनामा यो बर्ष बढी बर्षात हुने खबरले नै त्रसीत भएका सिन्धुबासी तिम्बुबाट अचानक आएको बाढीले खेतियोग्ग जमिन र घर, व्यावासाय बगर बनाएपछि ांतकित भएका छन् ।
हालसम्म के कारणले बाढी आएको भन्ने अध्ययन हुन सकेको छैन । हेलम्बु गाउँपालिकाले भने वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोले बाढी आएको जनाएको छ ।
गाउँपालिकाद्धारा जारी सुचनामा, विज्ञ डा।रविनराज निरौलालाई उद्धृत गर्दै चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ । त्यस्तै, सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भागमा पहिरो जानसक्ने एकिन नभएको जानकारी दिँदै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत अनुरोध गरिएको थियो ।
सो स्थानमा अहिले भन्दा ठूलो बाढी र विपत्ति आउन सक्ने भएकाले बस्ती स्थानान्तरण गर्नुपर्ने वातावरणविद् डा।रविनराज निरौलाले बताउँछन् । उनी भन्छन्, ‘सिन्धुपाल्चोक अझै थप जोखिममा छ त्यसैले समयमा नै होसियारी अपनाउनुपर्छ ।’