वासिङ्टन डिसी, पुस २२ गते । ग वर्षदेखि चीनबाट शुरु भएर विश्वभर फैलिएको कोभिड– १९ को त्रास खोपको आविष्कारपछि सहज बन्न थालेको छ । अमेरिकालगायत विश्वका विभिन्न देशमा यो खोप पुग्न थालेको छ । यसले झण्डै एक वर्षदेखि त्रासमा रहेको विश्व मानव समुदायलाई आशाको सञ्चार पनि गरेको छ ।
अमेरिकामा कोरोनाविरुद्धको खोप सरकारी निकायले आकस्मिक प्रयोजनको लागि स्वीकृति प्रदान गरेर उपलब्ध हुन थालेको तीन साता मात्र भएको छ । अहिलेसम्म करिब २० लाख अमेरिकीले यो खोप लगाइसकेका छन् । यो समाचार तयार पार्दासम्म ६० लाख डोज खोप अमेरिकाको स्वास्थ्य सेवा प्रदायक निकायहरुमा उपलब्ध भएको छ ।
यही प्रक्रियाबाट कतिपय नेपाली पनि खोप लगाउन सफल भएका छन् । अमेरिकी सरकारको खोप वितरणसम्बन्धी नियमअनुसार पहिलो चरणमा पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीहरु, ज्येष्ठ नागरिक सेवा केन्द्र र अत्यावश्यक सेवामा काम गरेकाहरु परेका छन् । अमेरिकाको केन्टकी राज्यमा बस्दै आउनुभएकी रेखा जोशी पनि त्यसरी खोप लगाउनेमध्ये एक नेपाली हुनुहुन्छ । उहाँले गत हप्तामात्र खोप लगाएको बताउनुभयो । उहाँले आफनो अनुभव सुनाउँदै भन्नुभयो ‘‘मैले मेरो देब्रे पाखुरामा कोभिड १९ विरुद्धको खोप लगाएँ, त्यसपछि मलाई १५ मिनेट आराम गर्नको लागि भनियो । त्यहीअनुसार आराम गरेँ र निस्कन खोज्दा मलाई अनुहारमा पसिना आएको अनुभूति भयो । मैले मास्क खोलेर म्यानेजरको नजिक गएर पसिना आएको बताएँ तर मलाई केही बेरपछि थाहा भयो कि त्यो पसिना कुनै ‘साइड इफेक्ट’ नभएर मानसिक तनावको कारण रहेछ ।
जोशीले भन्नुभयो ‘‘म धन्य रहेछु विश्वका करिब सात अर्ब मानिसले प्रतीक्षा गरिरहेको ऐतिहासिक खोपको पहिलो चरणमा नै लगाउने मौका मैले पाएँ ।’’ उहाँले आफ्नो जन्मस्थानको परिवेशदेखि जीवनयात्रा सम्झिएर आफूलाई निकै भाग्यमानी ठानेको प्रतिक्रिया दिनुभयो ।
अमेरिकामा फूड एड ड्रग एडमिनिष्ट्रिेशनले अत्यावश्यक प्रयोगको लागि अनुमति प्रदान गरेको कम्पनीमध्ये मोडर्ना कम्पनीको खोप लगाउन थालिएको हो । यो खोप लिने रेखाजस्तै करिब २० लाख अमेरिकीले आफूहरुलाई भाग्यमानी सम्झिएका छन् । उनीहरुले आफ्ना अनुभवलाई विभिन्न माध्यमबाट व्यक्त पनि गरिरहेका छन् ।
कुराकानीको क्रममा उहाँले सरकारी मापदण्डअनुसार पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीलाई प्रदान गरिने यो खोप उहाँको कार्यालयकै प्रशासन तथा व्यवस्थापन विभागमा काम गर्नेहरुले लगाउन पाएका छैनन् । तर नियमित प्रक्रियामा परेकाले आफूले लगाउन पाएको बताउनुभयो ।
रेखाले खोप लगाउनका लागि दिएको फार्म हस्ताक्षर गरेको दिनको स्मरण गर्दे भन्नुभयो ‘‘क्रिसमसको अघिल्लो दिन हामीलाई विभिन्न उपहार दिन लागिएको थियो, म पनि पङ्क्तिबद्ध थिएँ, यसैक्रममा एकजना सहकर्मीले एउटा फर्म देखाउँदै भने, “तपाई खोप लगाउन राजी हुनुहन्छ ? मैले जवाफमा हुन्छ भनें र हस्ताक्षर पनि गरेँ ।’’ शरीरमा खोप लगाउने नलगाउने भन्ने कुरा इच्छामा भरपर्ने भएकाले हस्ताक्षर गर्नु अगाडि उहाँसँग त्यसरी अनुमति मागिएको थियो ।
रेखाले नयाँ खोप लगाउने अनुमति दिएर घर त आउनुभयो तर उहाँमा बेचैनी शुरु भयो । कतै यो खोपले उल्टो असर पो गर्छ कि ? अथवा नयाँ खोप विश्वास पो कसरी गर्ने ? उहाँले भन्नुभयो ‘‘परिवारका सदस्यहहरुले हजारौँ मानिसमा परीक्षण गरेपछि ल्याएको खोपलाई विश्वास गर्ने गरी ढाडस दिएकाले मैले पूर्ण आत्मविश्वासका साथ यो खोप लगाउने निर्णय गरेको थिएँ ।’’
यसैगरी न्यूयोर्कको हेल्थ केयर सिष्टममा कार्यरत हीरा कँडेल सापकोटा पनि खोप लगाउने अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीमा पर्नुभएको छ । उहाँले खोप लगाउँदाको अनुभव बाँड्दै भन्नुभयो ‘‘मलाई खोप लगाउने बेलामा केही बढी दुखाई त भयो तर सहन नसक्ने भन्ने होइन ।’’ खोप लगाउन पाएर कोरोना भाइरसका विरुद्धमा विज्ञानले हासिल गरेको उपलब्धिलाई आत्मसात् गरेको भन्दै कँडेल थप्नुहुन्छ, ‘‘विज्ञानले गहिरो अनुसन्धानपश्चात् मानवीय परीक्षणको चरणसमेत पार गरेर उत्पादन गरिएको खोप लगाउन पाउँदा मलाई निकै खुशी लागेको छ ।’’
कँडेलका अनुसार यो खोपको दोस्रो चरणपछि मात्रै यसको असरको बारेमा विस्तृतमा भन्न सकिन्छ । खासमा कुनै एलर्जीको इतिहास भएका या गर्भवती महिलालाई खोप दिन नहुने बताइएको छ । करिब नौ महिनाको अथक प्रयासपछि कोरोना भाइरसविरुद्धको खोप अमेरिकाका दुई कम्पनीले बजारमा ल्याएका छन् । यी दुई कम्पनीमा फाईजर र मोडर्ना कम्पनी छन् । यसलाई अमेरिकी सरकारले आकस्मिक उपयोगको लागि भन्दै डिसेम्बर महिनामा स्वीकृति प्रदान गरेको हो । विश्वको चिकित्साक्षेत्रको इतिहासमा यस्ता खोप निर्माण गरेर मानिसमा लगाएपछि महामारी नियन्त्रण गरिएकाे विगतको इतिहास छ । तर कोरोना भाइरसविरुद्धको खोप विश्वभरको जनसङ्ख्यालाई लगाउने गरी पुग्न भने केही समय कुर्नुपर्ने विशेषज्ञहरुको भनाइ छ । अमेरिकामा जनवरीभरमा करिब एक करोड नागरिकलाई खोप लगाइने बताइएको छ ।
खोप मानव शरीरमा बाह्य वस्तु शरीरमा पठाएर त्यस भाइरसविरुद्ध लडनसक्ने क्षमता विकास गर्ने गरी विकसित गरिएको हो । यसको ९० प्रतिशत भन्दा बढी शरीरले ग्राह्य गरेको भन्नुको अर्थ केही मानिसमा खोपको कारणले केही सामान्य लक्षण आउने सम्भावना रहने विज्ञहरुको तर्क छ ।
तर यो समाचार तयार पार्दासम्म करिब २० लाख जनामा दिइएको खोपको केवल केही मानिसमा मात्र समस्या देखापरेको विवरण सार्वजनिक भएको छ । खोप लगाएपछि खोपले पार्ने असरको बारेमा फर्म भरेर दिनुपर्ने प्रावधान भएकाले यससम्बन्धी केही असर भएको देखिएमा अध्ययन पश्चात रिपोर्ट आउने अपेक्षा गरिएको छ ।
अमेरिकामा खोपको क्षेत्रमा अनुभव हासिल गर्नुभएका डा सञ्जीव सापकोटा अहिलेसम्म मानिसहरुमा दिइएको कोभिड खोपमा त्यस्तो गम्भीर असर नदेखिएको बताउनुहुन्छ । केहीलाई सामान्य ज्वरो, दुखाई र खोप दिएको ठाउँमा सुन्निने बाहेक अरु समस्या देखिएको तथ्य सार्वजनिक भएको छैन । सापकोटाको भनाइ छ ‘‘खोप शतप्रतिशत नै प्रभावकारी हुन्छन् भन्ने होइन ।’’
सापकोटा अगाडि थप्नुहुन्छ ‘‘यो खोप मानवीय परीक्षणका तीन चरण पार गरेर बनाइएको हो, त्यसैले यो सुरक्षित र प्रभावकारी छ । सापकोटा खोप लगाइसकेपछि पनि भाइरसविरुद्धको सुरक्षाका उपायहरु अपनाउनुपर्ने बताउनुहुन्छ । पछिल्लो पटक बेलायतलगायतका देशहरुमा देखापरेको द्रुतगतिको भाइरसको लागिसमेत यो खोप प्रभावकारी भएको खोपसम्बन्धी क्षेत्रमा कार्यरत विज्ञहरुले बताएका छन् ।
सापकोटाले नेपाल सरकारले कम्पनीसँग सिधै समन्वय गरेर खरिद गर्ने प्रबन्ध मिलाएको खण्डमा नेपाली जनतामाझ पनि चाँडो खोप उपलब्ध हुनसक्ने बताउनुभयो । तर नेपाल सरकारले कोभ्याक्स सुविधा अन्तर्गत सम्झौता गरेकोले त्यसको २० प्रतिशत खोप वैशाखसम्ममा नेपाल पुग्नसक्ने सापकोटाको अनुमान छ ।
स्मरणीय के छ भने मेक्सिको, बेलायत, क्यानाडा, इजरायल, साउदी अरेबियाजस्ता देशले अमेरिकी कम्पनीसँग सिधै खोप खरिद गर्ने सम्झौता गरेकाले ती देशमा अमेरिकामा उत्पादन भएको बहुप्रतीक्षित खोप तीन साताभित्रै निर्यात भएर खोप वितरण गर्न शुरु भइसकेको छ ।
अमेरिकाको स्वास्थ्यसम्बन्धी निकाय सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले दिएको जानकारीअनुसार अमेरिकी सरकारले करदाताको करबाट खोप खरिद गरिने भएकाले अमेरिकी नागरिकलाई निःशुल्क वितरण गरिने जनाएको छ ।
अमेरिकी सरकारले खोपको उपलब्धतालाई मध्यनजर राख्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, हेल्थ केयर सेन्टरमा बसिरहेका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको छ । त्यसपछि पहिलो पङ्क्तिमा कार्यरत अत्यावश्यक सेवाका अग्नि नियन्त्रक, सुरक्षाकर्मी, कृषिक्षेत्र, हुलाक सेवा, ग्रोसरी स्टोर, यातायात क्षेत्रलगायतका कार्यालय र क्षेत्रमा कार्यरत कर्मचारी छन् ।
यसैगरी शिक्षाक्षेत्रका कर्मचारी तथा शिक्षक, सहयोगी, डे केयर सेन्टरमा काम गर्ने र ७५ वर्ष उमेर समूहभन्दा माथिकालाई खोप लगाइने भएको छ । त्यसपछि मात्र १४ वर्षदेखि ६४ वर्षमुनिका र अन्य स्वास्थ्य समस्याका कारणले जोखिममा रहेकालाई खोप लगाइने नीति अमेरिकी सरकारले बनाएको छ ।
अमेरिकामा दुई करोड १० लाख स्वास्थ्यकर्मी, ३० लाख ७५ वर्ष उमेर समूहभन्दा माथिका नागरिकले पहिलो चरणमा खोप लगाउने छन् । त्यसैगरी आठ करोड ७० लाख अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई पनि यो खोप दिइनेछ । यी नागरिहरुले आगामी वैशाख÷जेठसम्ममा खोप लगाउन सक्ने अनुमान गरिएको छ ।