जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।
जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् ।
अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ ।
यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । दक्षिण कोरिया तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित छैटौँ, अस्ट्रेलिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौँ, क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य जित्दै आठौँ, फ्रान्स दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ नवौँ तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसक्नुभएको छ । तीनै जना पराजित भई प्रतियोगिताबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा शाहले एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
टोकियो ओलम्पिकमा अब पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । सिंहले आज तथा चौधरीले पर्सी शुक्रबार आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।-