अमेरिका र यूरोपका कतिपय मुलुकले आम मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप दिन थालेको हप्तौँ भएको छ।
नेपाल लगायत दक्षिण एशियाली देशहरूमा भने खोप कार्यक्रम अझै सुरु भइसकेको छैन।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसँग बीबीसी नेपालीका गनी अन्सारीले गरेको कुराकानी:
कोरोनाभाइरस खोपको पहिलो खेप कहिलेसम्म नेपाल आइपुग्ला?
प्रक्रिया अगाडि बढेका छन्। सरकारले सबै उत्पादक देशलाई पहिले नै कूटनीतिक नोट पठाइसकेको छ।
कतिपयले त्यसको प्रतिक्रिया दिए कतिपयले दिइसकेका छैनन्।
म स्वास्थ्यमन्त्री बनिसकेपछि रुसी राजदूत र भारतीय राजदूतसँग खोपकै विषयमा बृहत् छलफल गरेको छु।
हिन्दुस्तानमा खोप सुरु भएपछि अविलम्ब ल्याएर खोप लगाउने कामलाई अभियानको रूपमा लग्न आन्तरिक तयारी युद्धस्तरमा गर्दैछौँ।
खोप आइसकेपछि त्यसको भण्डारण र ओसारपसारका लागि कानुनी जटिलता करिब हामीले समाप्त गरिसकेको अवस्था छ।
प्रत्येक प्रदेशमा एउटा भण्डारण र सङ्घमा पनि थप एउटा भण्डारणको व्यवस्था हामी गर्दैछौँ।
भारत सरकारका तर्फबाट कस्तो प्रतिबद्धता व्यक्त भएका छन्? कुन प्रक्रियामार्फत् नेपालले खोप ल्याउने हो?
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग स्वास्थ्य मन्त्रालयमै मैले लामो कुराकानी गरेँ।
उहाँले नेपाल लगायत छिमेकी देशहरूमा खोप उपलब्ध गराउने प्रयास गरिरहेको मसँग बताउनुभएको छ।
भारत र नेपालबीचको खुला सिमाना र आवतजावतका कारण यी दुई देशमा सँगसँगै खोप नलगाउने हो भने एकले अर्कालाई प्रभावित गर्ने अवस्था बन्छ।
त्यसैले नेपाल प्राथमिकतामा परेको छ भन्ने उहाँले भारत सरकारको तर्फबाट विश्वास दिलाउनुभएको थियो।
त्यही आधारमा भन्नुपर्दा हामी छिटै खोप ल्याउँछौँ।
अस्ति मात्र खोप उत्पादक सिरम इन्स्टिच्युटले खोप निर्यात गर्ने राष्ट्रको नाम उल्लेख गर्दा बङ्गलादेश, साउदी अरब र मोरक्को भनेको थियो। त्यहाँ नेपालको नाम थिएन नि?
सिरम इन्स्टिच्युटसँग हाम्रो कुनै पत्राचार भएको छैन।
हामी सरकार-सरकारबीच व्यवहार गर्नेछौँ।
हाम्रो पहिलो प्राथमिकता त्यही हो। त्यसैबाट हामी सही समयमा र सही मूल्यमा खोप आयात गर्न सक्छौँ।
बिबिसी