नेपाल कै सबै भन्दा पहिलो बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटनको क्रमका वक्ताहरुले बालबालिकाको मानसिक स्वास्थ्य समस्या सम्बोधनमा नयाँ आयाम थपेको जिकिर गरेका छन् । अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमविच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भवनको उद्घाटन गर्नुभएको हो ।
कान्ति बालअस्पतालको प्रागणमा निर्माण गरिएको बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य केन्द्र भवन, कान्तिबाल अस्पताल सँगको सहकार्यमा सिविन नेपालले निर्माण गरेको हो । फोरुट नर्वे, नर्वेली मनोचिकित्सक संघ र टच आयरल्याण्डको आर्थिक सहयोगमा भवन निर्माण भएको हो ।
उद्घाटनको क्रममा अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेलले नयाँ भवननिर्माणले बालबालिकाकाको मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा अस्पतालले दिंदै आएको सेवा अझ विस्तार हुने बताउनुभयो । साथै उहाँले, बालबालिकाका लागि निर्मित नेपालकै सबैभन्दा पहिलो र ठूलो अस्पताल संचालनमा सरकारको तर्फबाट प्रत्यक्ष आर्थिक र प्राविधिक सहयोगको अपेक्षा रहेको स्पष्ट पार्नु भयो ।
यसैक्रममा, सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले, २०७२ सालको ठूलो भुइचालो पछि बल्ल शुरुभएको बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभागले, आफ्नै भवनमावहिरंग सेवा शुरु गर्न सकेकोले निक्कै उत्साही र गौरवान्वित बनाएको धारणा राख्नु भयो । साथै कोभिड १९ को संक्रमणको अप्ठरयारो परिस्थितिमाविभागकाप्रमुख डाक्टर अरुण कुँवरको नेतृत्वमा मुलुकका २५ हजार भन्दा बढी बालबालिका र वयस्कलाई अनलाइन मार्फत तनाव ब्यवस्थापनबारे सेवा दिएको समेत कार्यकारी निर्देशक तुलाधरले जानकारी गराउनुभयो । साथै, सात वटै प्रदेशमा बालमानसिक स्वास्थ्य सम्बोधनको ब्यवस्थाका लागि सरकारसँग माग समेत गर्नुभयो ।
काठ्माडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बालबालिकाको स्वास्थ्य र नगरबासीको हितकालागि नगरपालिकाले सँधै सहयोग गर्दै आएको स्मरण गर्दै आउने दिनमा पनि नगरबासीको हितको क्षेत्रमा लगानी गर्न तैयार रहेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि, स्वास्थ्यतथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सरकारको मुख्य प्राथमिकता अहिले कोभिड विरुद्धको खोप ल्याउने रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा संलग्न सेवाकर्मीको उत्साहलाई कायम राख्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
२०७२ सालको भुइचालो पछि बालबालिकामा परेको मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले नेपालको एकमात्र सरकारी स्तरबाट संचालित कान्तिबाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यविभाग खडा गरेर सेवा थालेको थियो । त्यसको पाँचबर्ष पछि अस्पताल परिसरमै विभागको छुट्टै भवननिर्माण गरी बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको हो ।