काठमाडौं- खाना नपच्नुलाई अपच /अजिर्ण भएको भन्ने गरिन्छ । पेटको समस्या उत्पन्न हुनुमा मुख्यतस् कुनै बेला उपवासको नाममा भोक-भोकै बस्नु र कुनै बेला बेस्सरी खानु पनि मुख्य कारक हो । पाचन प्रकृया बिग्रियो भने यसले वृद्ध-वृद्धामात्र भन्दैन, युवा वर्गदेखि बालबालिकासम्मलाई यसले आफ्नो चपेटामा पार्छ । प्रायः यो लक्षण कमजोर पाचन शक्तिसँग सम्बन्धित कुनै रोग जस्तो कलेजो, ग्याष्ट्रिक, मधुमेह आदिका कारण हुने गर्दछ ।
यसबाहेक मानसिक पक्षलाई हेर्ने हो भने तनावले पनि पाचन प्रकृयालाई बिगार्न सक्ने सम्भावना उत्तिकै छ, चाहे त्यो तनाव कामसँग सम्बन्धित होस् अथवा कुनै प्रतिस्पर्धासँग ।
आयुर्वेद तथा मनोवैज्ञानिकदेखि मानसिक रोगहरुका विभिन्न आयामहरुमा गरिएका भिन्दा-भिन्दै अध्ययनहरुका अनुसार युवा वर्गमा बढिरहेको तनाव अथवा इन्जाइटी पाचनसँग सम्बन्धी समस्याको सबैभन्दा ठूलो कारण मानिएको छ ।
शरीरमा हुने टक्सिन तथा फ्रिरेडिकल्स पनि यो समस्याको कारण बन्दछ । सही समयमा भोजन नगर्नु, राति अबेरसम्म काम गर्नु, जंक फूड धेरै खानु तथा रक्सी, चुरोट, पान मसाला, गुट्खा, खैनी आदि सेवन गर्ने व्यक्तिहरुलाई प्रायः पाचनसँग सम्बन्धित ग्यास, एसिडिटी तथा पेटमा भारीपना जस्ता समस्याहरु देखिन्छन् । राम्रो स्वास्थ्यका लागि पाचन प्रकृया चुस्त र दुरुस्त रहनु अति अनिवार्य छ ।
आयुर्वेदमा पाचन प्रणालीलाई अग्नी समान मानिन्छ । पाचन प्रणालीलाई शरीरको उर्जा स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको सुरुवात पाचन प्रणालीबाट नै हुन्छ ।
१. स्वस्थ र एकाग्र भएर खाने
आजकालको जीवनशैलीमाा हरेक मानिस एकपटकमा विभिन्न काम गर्ने बारे सोच्छन् र समस्याहरु यँहीबाट सुरु हुन्छ । आयुर्वेदले सँधै एकाग्र भएर खाने सुझाव दिन्छ किनभने यस्तो गर्नाले मस्तिस्कलाई हाम्रो खानाको बारेमा सहि जानकारी मिल्छ ।
हल्का सादा खाना, सुपाच्य खाना एवम् सात्विक खाना खाएमा तपाईंको अग्नी उर्जावान रहन्छ ।
२. अग्नी खराब बनाउने पदार्थबाट टाढै रहनुहोस्
खराब तरल पदार्थहरुले तपाईंको अग्नीलाई बिगार्न सक्छ । धेरै मात्रामा तरल पदार्थ जस्तै कोल्ड ड्रिंक्स, अल्कोहल आदीको सेवनले पनि तपाईंको पाचनप्रणालीलाई असन्तुलित गर्छ । यस्तै धेरै सुत्ने, धेरै खाना खाना खाने गर्नाले पनि अग्नीको अस्तित्व संकटमा पर्छ ।
३. आफ्नो अग्नीलाई सुधार्ने
स्वस्थ भोजन गरेर हामी आफ्नो अग्नीलाई पहिले देखि नै सुधार्न सक्छौं, जसले राम्रो परिणाम दिन सक्छ । खान भन्दा पहिले हल्का हिँडडुल गर्नु पनि तपाईंको अग्नीलाई सुधार्ने एक सरल र फाइदाकारी सुझाव हो । बिहान उठ्नासाथै २ गिलास पानी पिउनाले पनि पाचन प्रणालीलाई चुस्त दुरुस्त राख्छ ।
४. षैष्टिक गुण धेरै भएका खाद्यपदार्थको सेवन गर्नुहोस्
दिनचर्यामा अधिक पौष्टिक गुणवान खाद्यपदार्थहरुको सेवन गर्नाले तपाईंको पाचन प्रणालीको अग्नीलाई सुधार्छ । तपाईंको आहारमा पर्याप्त मात्रामा सागसब्जी एवम् फलफूल हुन आवश्यक छ । यसखालको आहारले तपाईंलाई पाचनमा हुने रोगहरुबाट बँचाउछ ।
५. दैनिक एकै समयमा खाना खानुहोस्
यो बानी अपनाउन थोरै मुस्किल हुन सक्छ तर यो बानीको फाइदा भरपुर छ । दैनिक एकै समयमा खाना खानाले तपाईंको पाचन प्रणालीलाई सुधारेर त्यसको उत्पादकत्व बढाउँछ ।
६. व्यायाम महत्वपूर्ण छ
धेरै समयसम्म एकै स्थानमा बसेर काम गर्ने वा पढ्ने गर्नाले तपाईंको शरीरको पाचन क्रिया ढिलो हुन्छ । त्यसैले आयुर्वेदले सँधै सहि प्रकारको व्यायाम गर्ने सल्लाह दिन्छ जसले तपाईंको पाचनतन्त्र एवम् शरीर दुवै उच्चतम बनिरहन्छ ।
७. ताजा हावा र केही आसन
जसरी अग्नी बल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ त्यसरी नै तपाईंको पाचन तन्त्रको अग्नीलाई पनि स्वस्थ राख्न पनि ताजा हावाको आवश्यकता हुन्छ । बिहानै घुम्न जाने वा फेरि प्रकृतिमा लामो पैदल यात्रा गर्नु तपाईंको ताजा हावाको सेवन अनुभव गराउन सक्छ ।
८. काममा ध्यान लगाउने
आफ्नो पिर, चिन्ता र तनावलाई टाढै राख्नको लागि आफ्नो काममा धेरै ध्यान लगाउनुभन्दा राम्रो तरिका सायद अरु छैन होला हरेक दिन केवल ५ मिनेट एकाग्रतासँग ध्यान लगाउनाले तपाईंलाई असङ्ख्य लाभ दिन सक्छ ।
९. सहि मात्रामा पानी पिउने
दैनिक सहि मात्रामा पानी पिउनु मानिसको पाचन प्रणालीको लागि सबैभन्दा धेरै लाभदायक हुन सक्छ । पानीले केवल पाचनप्रणालीमा रहेका ब्याक्टेरियामा सन्तुलन राख्दैन बरु पुरै शरीरमा खानाबाट मिलेका पोषक तत्वलाई पुर्याउन सहयोग गर्छ ।
१०. विषहरण प्रक्रिया
आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्धारा सफा राख्ने सल्लाह पनि दिन्छन् । विषहरण क्रिया क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ ।
विषहरण क्रियाले तपाईं आफ्नो अग्नीलाई शक्तिशाली तरिकाले फेरि सुरु गर्न सक्नुहुन्छ । विषहरण क्रियाले भित्री प्रणालीको मर्मत गरेर त्यसलाई उच्चतम उत्पादकत्व दिन सघाउँछ । विषहरण क्रिया फलफूलको सेवन देखि लिएर पन्चकर्म थेरापीसम्म विस्तारित छ ।
पाचनप्रणाली भित्रको अग्नीले हरेक मानिसलाई सक्रिय उर्जावान राख्छ । पाचनप्रणालीमा सन्तुलन राख्न सकेमा स्वस्थ र दिर्घजीवन प्राप्त गर्न सकिन्छ । यसैकारण हामीले आफ्नो पाचनप्रणालीको अखण्डतालाई स्वस्थ राख्न आवश्यक छ ।
’