काठमाडौं । लियोनल मेस्सीले बार्सिलाना छाड्ने निश्चित भएपछि उडेको धुलो अझै शान्त भएको छैन् । बरू देखिएको छ, यसले बार्सिलोनालाई अझै लामो समय छोपेर राख्ने छ ।
सबैले देखेको तथ्य हो, यी अर्जेन्टिनी खेलाडी महँगा छन्, उनले थाप्ने तलब धेरै बढी छ । उनी नभएपछि बार्सिलोनाको राम्रै रकम बच्ने छ ।
खासमा यो त एक पक्षीय दृष्टिकोण मात्रै हो । एकपक्षीय भन्दा पनि पूर्वाग्रही । मेस्सीले बार्सिलोनाबाट जे जति थाप्ने त्यसको अझ बढी क्लबले उनको नाम बेचेर खाने गरेको छ । बार्सिलोनाका लागि मेस्सीको योगदान अतुलतीय छ । यस्तोमा प्रश्न स्वाभाविक छ, बार्सिलोनाले मेस्सीसँगै के के गुमाउने छ ?
खेलको दृष्टिकोणबाट
मेस्सीले पछिल्ला १७ सिजन बार्सिलोनाका लागि लगातार खेले । यसबीच उनको प्रदर्शन सबै सिजन उच्च नै रह्यो । त्यसैले त उनी बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गर्ने, सबै भन्दा बढी खेल खेल्ने, सबै भन्दा बढी उपाधि जित्ने र सबै भन्दा बढी खेल जित्ने खेलाडी हुन् । अब यत्तिको खेलाडी नै बार्सिलोनामा रहने छैन् ।
उनले बार्सिलोनाका लगि ७ सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरे । उनले ३ सय ५ गोलमा अवसर पनि सिर्जना गरे । उनकै सहयोगमा बार्सिलोनाले ३५ उपाधि जित्यो, जसमा चार च्याम्पियन्स लिग, १० ला लिगा र तीन क्लब विश्वकप छन् । उनको स्थान बार्सिलोनामा कसैले लिने सक्ने छ र ? पक्कै छैन् ।
आर्थिक दृष्किोणबाट
जोन लापोर्टोले पनि मानेका छन्, बार्सिलोनाको कुल आम्दानीको एक तिहाइ मेस्सीकै कारण भित्रिने गरेको छ । मेस्सी भएकै कारण बार्सिलोनाले प्रायोजक र जर्सि विक्रीबाट राम्रै कमाइरहेको थियो । बार्सिलोनाका १० जर्सि विक्री हुन्छ भने त्यसमध्ये आठ त मेस्सीकै नाममा हुने गर्छ । टिकट काटेर खेल्न हेर्न पाउने पनि त मेसीकै कारण रंगशाला पुग्ने गरेका हुन् ।
बार्सिलोनाले प्रत्येक वर्ष ३० करोड युरो मेस्सीकै नाम बेचेर कमाइरहेको थियो । मेस्सीविना बार्सिलोनाको आम्दानी पनि घट्ने छ । अब त यो आम्दानी त मेस्सी विना दोहराएर आउने छैन् । त्यसै पनि बार्सिलोना आर्थिक संकटमा छ, अब मेस्सी विना उसको आम्दानी पनि सुक्ने छ । त्यो भनेको क्लबका लागि अझ गाह्रो स्थिति हो ।
भावनात्मक दृष्टिकोणबाट
मेस्सी राम्रा खेलाडी त थिए नै, उनी व्यक्तिगत रूपमा पनि उत्तिकै भलाद्मी मान्छे हुन् । त्यसैले त उनका धेरै समर्थक भए । मेसीले अनावश्यक रूपमा बढी बोलेको, अनावश्यक काम गरेका कसैलाई थाहा छ र ? छैन् नै । अब उनी जत्तिको खेलाडी नै रहेन भने बार्सिलोनाको समर्थक हुनु र रहनुमा पनि के नै अर्थ रह्यो र ?
–मार्काको सहयोगमा ।