काठमाडौं - चिसो दिनप्रति बढ्दै गइरहेको छ । गर्मी मौसममा जस्तै चिसो मौसममा पनि स्वास्थ्यमा धेरै खाले समस्याहरु देखिने गर्छन । खासगरि चिसो मौसममा छालासम्बन्धी समस्याहरु देखिने गर्छन् । चिसोयाममा हातखुट्टा सुन्निने, चिसो भइरहने, छालामा निलो र रातो डाम देखिने जस्ता समस्याले सताउने गर्छ । यी समस्याहरुमध्ये पनि हातखुट्टा फुट्ने र सुन्निने समस्या धेरैमा देखिन्छ । छालामा आउने यस्ता समस्याले गर्दा कति व्यक्तिहरु चिसो मौसमलाई मन पराउदैनन् ।
हातखुट्टा फुट्ने र सुन्निनुका कारणहरु
चिसोको एलर्जी
चिसो मौसममा केहि व्यक्तिहरुमा पानी चलाउने बित्तिकै हात खुटुटामा रातो फोका आउँने, चिलाउने, छाला कडा भएर जाने, पैताला र हात फुट्ने गर्दछ । यो समस्यालाई चिसो पानीको एलर्जी भन्ने गरिन्छ । शरीरले आफ्नो तापक्रम नियमन गर्न नसक्दा यस्तो समस्याहरु आउँन सक्छ । कोहि व्यक्तिलाई चिसो पानीले एलर्जी हुन्छ भने कोहि व्यक्तिलाई तातो पानीले पनि एलर्जी गराउँन सक्छ ।
डिटरजेन्ट एलर्जी
कडा डिटरजेन्ट अथवा लुगा धुने साबुन, सर्फ भाडा धुने साबुनको प्रयोगले पनि हातमा यस्ता समस्या आउँन सक्छन् । डिटरजेन्ट एलर्जी भए हातमा साबुदाना जस्ता स साना फोकाहरु आउने गर्दछ । ति फोकाहरु एकदम चिलाउने गर्छन । कनाउँदा ति फोकाहरु फुटेर जान्छ । यस्ता फोकाहरु फुटेर जादाँ हातको छाला कडा बनेर जान्छ । छालामा यस्ता फोकाहरु आउँदा उचित हेरचाह नगरेमा अन्य इन्फेन्सन भएर पिप आउने समेत हुन सक्छ ।
रेनउण्ड्स फेनेमेनन
रेनउण्ड्स फेनेमेननका कारण पनि यस्तो समस्या देखिन सक्छ । यो एक साधारण अवस्था हो जसले शरीरको केहि भागहरूमा रगत आपूर्तिलाई असर गर्दछ । सामान्यतया हात खुट्टाका औंलाहरूमा रक्तसञ्चार हुन सक्दैन । रेनउण्ड्स फेनेमेनन नशा सम्बन्धि समस्या हो । यो बंशानुगत कारणले पनि हुन्छ । मुटु वा नशा सम्बन्धि समस्या भएका व्यक्तिहरुमा पनि यस्तो समस्या हुने सम्भाबना रहन्छ ।
रेनउण्ड्स फेनेमेनन भएको व्यक्तिको कहिले हात नतात्ने, तथा प्रभावित क्षेत्र सेतो रंगमा परिवर्तन हुन्छ । यो समस्या भएमा रक्तसञ्चारमा कमी हुने भएकाले हात खुटुटाका औंलाहरु सानो हुन्छ । त्यसैले यो समस्यालाई सानो उमेर देखि नै थाहा हुन्छ । यस्ता समस्या भएका व्यक्तिहरुको हात जाडोमा मात्र नर्भइ गर्मिमा पनि चिसो नै भइरहने गर्दछ ।
कत्ले रोग सोरियासिस
छाला कत्ला पर्ने पैताला चिरा पर्ने, छालामा चायाँ जस्तो सेतो देखिने समस्यालाई कत्ले रोग भन्ने गरिन्छ । यसलाई चिकित्सकिय भाषामा सोरियासिस भन्ने भनिन्छ । सोरियासिस भएका व्यक्तिहरुको हात खुट्टामा मात्र नभई पुरा शरीरमा नै चाया जस्तो सेतो देखिन सक्छ ।
बच्ने उपाय
आफुलाई जुन वस्तु देखि एलर्जी छ त्यो वस्तुलाई प्रयोगमा नल्याउनु अर्थात नकार्नु नै एलर्जीबाट बच्ने सरल तरिका हो । चिसो पानीको एलर्जी भएका व्यक्तिले चिसो पानीको प्रयोग गर्नुहुदैन । डिटरजेन्टको एलर्जी भएका व्यक्तिले यस्ता समाग्रीहरु प्रयोग गर्दा पञ्जाको प्रयोग गर्नुपर्छ ।
एलर्जी हुने छालालाई चिल्लो राखेन भने एलर्जी हुने सम्भाबना बढि हुन्छ । जाडोमा छालामा आउने समस्याबाट बच्न छालालाई चिल्लो बनाउनु महत्वपुर्ण उपाय हो । छालालाई चिल्लो बनाउन मोस्चराइजर र ह्याण्ड क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ ।
(छाल रोग बिशेषज्ञ डा। अर्याल बिराट अस्पतालमा आबद्ध हुनुहुन्छ ।)
’
महिला स्वास्थ्य