एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा थप बम हमला हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ ।
बिहीबार साँझ भएका भीषण विस्फोटमा परी हालसम्म १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अमेरिकी सेनाले काबुल विमानस्थलमा थप हमला हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कताका साथ काम गरिरहेको बताएको हो ।
अमेरिकी कमान्डरहरु अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् ।
इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका हुन् ।
‘सावधानीका साथ हामी हरसम्भव प्रयास गरिरहेका छौँ, हमलाको सामनाका लागि तयार छौँ’, उनले भनेका छन् ।
बिहीबार भएका विस्फोटको जिम्मा इस्लामिक स्टेटको एक सहयोगी संगठनले लिएको छ ।
यसैबीच तालिबानले बिहीबार साँझ काबुल विमानस्थलमा भएको बम आक्रमणमा अमेरिकी भन्दा धेरै आफ्ना सदस्यहरु मारिएको बताएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार काबुल विमानस्थलमा भएको हमलामा तालिबानका कम्तीमा पनि २८ सदस्य मारिएका छन् ।
तालिबानका एक अधिकारीले भने,‘काबुल विमानस्थलमा अमेरिकन भन्दा धेरै हाम्रा मानिसहरु मारिएका छन्।’ यो हमलापछि पनि उनले अमेरिकी सेनाले ३१ अगष्टपछि अफगानिस्तामा रहनुपर्ने कुनै आवश्यकता नरहेको बताए ।
यसैबीच, अमेरिकी सेनाको ज्यान जाने गरी काबुल विमानस्थलमा भएका दुई विस्फोटको घटनापछि अमेरिकी प्रतिपक्षी दलहरुले राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन् ।
साथै, उनीहरुले बाइडेनलाई महाभियोग लगाउमानुपर्ने समेत माग गरेका छन् । ‘यदि ट्रम्पलाई टेलिफोन गरेकै आधारमा महाभियोगको प्रस्ताव गरिन्छ भने बाइडेनलाई पनि अफगानिस्तानको गल्तीप्रति महाभियोग लगाउनुपर्छ’ रिपब्लिकन पार्टीका तर्फबाट टेक्सस सांसद रोनी ज्याक्सनले भने ।
‘हामी यो भन्दा अझै उत्कृष्टताको लागि लायक छौं । बाइडेनको यो गल्ती एक दशककै खराब हो’ उनले भने ।
राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत निकी हेल्ली पनि बाइडेनले तत्काल राजीनामा दिनुको विकल्प नरहेको बताएकी छन् । रिपब्लिकन पार्टीका अन्य सांसदले समेत बाइडेनको राजीनामा मागेका छन् ।