राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
पुस १७ गते शुक्रबारबाट सुरु भएको सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बस्यो । जम्माजम्मी सात घण्टा पाँच मिनेट । यस अवधिमा सभामा सातवटा अध्यादेश पेस भएको सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताए ।
राष्ट्रियसभामा पेश भएका सातवटा अध्यादेश:-
– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
– तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
– नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७
– सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७
– औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७
– यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
– फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
यसबीचमा राष्ट्रियसभाको सातौं अधिवेशनले वामदेव गौतमलाई राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।
त्यसैगरी सभा अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश, २०७७ सभामा पेस हुँदा सर्वसम्मतिबाट अनुमोदन भएको थियो।
यस्तै, अधिवेशन अवधिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभासमक्ष पेस गरियो ।