काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
अल अमिरात क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ रोजेको छ । र, ओमानलाई फिल्डिङको निम्तो दिएको छ ।
नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछन् ।
आज नेपाल घरेलु टिमविरुद्ध जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।
सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । घलु टिमले पछिल्लो समय उत्कृष्ट खेलिरहेको छ ।
लिग-२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।
टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो ।
त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।