काठमाडौं- चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ ।
नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिनुभयो । पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।
असोज पहिलो सातादेखि विद्यालय खुलाइने
कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेको दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ ।
कोरोनाको जोखिम केही कम भएको जनाउँदै दमक नगरपालिकाले आफ्ना मातहतमा रहेका शैक्षिक संस्थालाई विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो ।
नगरपालिकाले विद्यालय सञ्चालनका लागि निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग सुुझाव माग गरेको थियो । सोही सुझावका आधारमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
शाखा प्रमुख न्यौपानेले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यालय सञ्चालन गरिने बताउनुभयो । कार्यविधिमा कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दूरी कायम गराउनुपर्ने, मास्कको प्रयोग गराउनुपर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडि हात धुने व्यवस्था गरिनुपर्ने, भीडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्वारा पठनपाठन गराउनुपर्नेलगायतका छन् । यसका लागि नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उहाँले बताउनुभयो । जोखिमको अवस्था हेरेर विद्यालय कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैँले पनि निर्णय लिन सक्ने पनि शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।