काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो फेज आइतबारदेखि सुरू हुँदै छ । गत मे मा भारतमा कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै २९ खेल खेलेर प्रतियोगिता स्थगित गरिएको थियो । स्थगित गरिएको प्रतियोगिता आइतबारदेखि युएईमा हुनेछ। बाँकी रहेका सबै ३१ खेल अब युएईमै हुने छन् ।
प्रतियोगितालाई कोरोनाबाट जोगाउन बिसिसिआईले कडा नियम लागु गरेको छ । लिगका दौरान इमर्जेन्सी मेडिकल सर्भिस, स्पोर्टस् मेडिसिन सर्भिस, स्पेशलिस्ट टेली कन्सल्टेशन, डाक्डर अन कल, एम्बुलेन्स, एयर एम्बुलेन्सजस्ता सर्भिसका लागि युएईको भिपिएस हेल्थकेयरलाई पार्टनर बनाएको बिसिसिआईले जनाएको छ ।
मेडिसिन तथा कोभिड–१९ म्यानेजमेन्टका लागि १०० सदस्यीय मेडिकल टाक्सफोर्स बनाइएको छ । जो खेलाडीका लागि जुनसुकै समय मद्दतका लागि तयार हुने छन् । हरेक खेलका लागि दुई मेडिकल टिम मैदानमा उपलब्ध हुने छन्। जसमा डाक्टर्स, नर्स तथा प्यारामेडिक्स तथा ल्याब टेक्निसियन हुने छन् ।
दोस्रो फेजमा कम खेल हुनुको बाबजुत कोभिड टेस्ट भने धेरै हुने छ। खेलाडीहरू युएई पुग्नुअघि नै अबुधाबीका १४ होटलका ७५० भन्दा बढी स्टाफको कोरोना टेस्ट गरिएको छ । नयाँ कोभिड प्रोटकलका बाबजुत सबै खेलाडी तथा अफिसियलको हरेक तेस्रो दिन टेस्ट हुने छ ।
प्रतियोगिताका दौरान ३० हजार कोरोना टेस्ट हुने आयोजकले जनाएको छ । त्यसबाहेक सुरक्षित बायो–बबलका लागि नर्स तथा मेडिकल स्टाफको लिग नसकिंदासम्म तोकिएका १४ होटलमानै राखिने छ । यी १४ होटलमा आइपिएलसँग संलग्न खेलाडी तथा खेल अधिकारीहरू मात्र हुने छन् ।