साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ ।
हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन बर्ष पहिले भएको मृत्यु सानालाई नियन्त्रण गरेको इरान समर्थित विद्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो ।
विद्रोही समर्थक साबा न्यूज एजेन्सीले ती नौ जनालाई यमनको राजधानी सानाको एक चोकमा गोली प्रहार गरी मृत्युदण्ड दिइएको जनाएको छ । उनीहरू हुथी समूहको एक अदालतले हुथी नेता सामदको हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर भएका १६ जनामध्ये हुन् ।
हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि उहाँहरूको अनुपस्थितिमा नै अदालतले मुद्दा चलाएको थियो । उहाँहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको साबा न्यूजले उल्लेख गरेको छ ।
अप्रिल २०१८ मा यमेनको पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो । साउदी अरबले उक्त हवाई हमला गरेको पुष्टि गरेको थियो ।
हुथी समूहले गरिब देश यमनमा पूर्ण नियन्त्रणका लागि साउदी समर्थित यमनी सरकार र रियादको नेतृत्वमा भएको सैन्य गठबन्धनसँग सन् २०१४ देखि लडिरहेका छ ।
हुथीहरूले यमनी राजधानी सानालाई कब्जा गरेपछि साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ देखि यमनी हुथीलाई लक्षित गरी आक्रमण थालेको थियो ।
त्यसबेलादेखि हजारौं मानिसहरू मारिएका छन् र लाखौं मानिसहरू संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट भनी वर्णन गरेको भोकमरीको सँघारमै पुगेका छन् ।
साउदी नेतृत्वको गठबन्धनले देशमा हस्तक्षेप गरेपश्चात् मारिएका समाद सबैभन्दा वरिष्ठ हुथी नेता थिए ।-