आज सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरण हुँदै छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्चले आज ललितपुरको सातदोबोटोमा रहेको कराँते हलमा अवार्ड वितरण कार्यक्रमको आयोजना गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण यस कार्यक्रम सेमी भर्चुअलका रुपमा आयोजना हुने भएको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा खेलकुदको क्षेत्रमा योगदान दिएका १० विधाका व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने छ ।
मञ्चले यसअघि नै ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरीका सिंह, कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन्।
यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।
यसैगरी वर्ष महिलातर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।