ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो पौने पाँच बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको प्रतिस्पर्धा मात्र हुनेछ । दुवै टोली सान्त्वना जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ ।
नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल र दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको नेपालले कुनै पनि अंक जोड्न सकेको छैन ।
६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा र इरान दोस्रो स्थानमा रहेका छन्। यस समूहको शीर्ष टोलीले एएफसी उमेर समुहको एसियन कप खेल्नेछ ।-