जारी टी-ट्‍वान्टी विश्वकप २०२१ अन्तर्गत गएराती सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि बलियो जीत हात पारेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारत निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११० रनमा समेटिएको थियो ।

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६ रन र हार्दिक पाण्डेले २३ रनको पारी खेलेका थिए । १११ रनको सामान्य विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १४ दशमलव ३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि भारत आठ विकेटले परजित हुन पुगेको हो ।

न्युजिल्याण्डका लागि ओपनर डर्याल मिचेलले ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले ३३ रनको योगदान दिंदै अविजित रहे । उपाधीको दावेदार मानिएको भारत यो लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ भने अफगानिस्तान दोस्रो र न्युजिल्याण्ड तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी भारत र स्कटल्याण्ड अंकविहिन हुँदै पाँचौ र छैटौं स्थानमा रहेका छन् ।

हिजै सम्पन्न पहिलो खेलमा अफगानिस्तानले नामिबियामाथि ६२ रनको सानदार जीत निकालेको थियो । आजको खेल भने इङ्ल्याण्ड र श्रीलंकाबीच साँझ ७.४५ बजेबाट खेलिंदैछ ।-