विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली चीन पुगेको छ।
कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ। लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो।
१० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिनेछन्। सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन्।
कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको थियो। अहिले भने वुहान सहर सामान्य अवस्थामा फर्किसकेको छ।
अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन्।
यसअघि चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै प्रवेशमा रोक लगाएको थियो। चीनका लागि उडिसकेका दुई जना सदस्यहरूमध्ये एक जना फर्किएका थिए। अर्का भने ट्रान्जिटमै अड्किएका थिए।
बेइजिङले यस घटनालाई गलत प्रभाव भएको बताएको थियो। बेइजिङले कोरोनाको महामारी चीनबाट सुरू नभएको जनाउँदै आएको छ।
डब्लुएचओका प्रोफेसर डेल फिसरले यो अध्ययन कुनै राजनीति वा आरोप लगाउन नभई वैज्ञानिक प्रश्नको गहिराइमा पुग्न भएको बताए। सो भाइरसलाई कतिपय वैज्ञानिकहरूले प्राकृतिक घटना भएको उनले बताए।
आठ महिनापछि बिहीबार चीनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। चीनले ठूलो संख्यामा परीक्षण, कडा लकडाउन र कडा भ्रमण नियमहरू लागू गरी यस महामारीलाई नियन्त्रणमा लिएको थियो।
तर, केही हप्तायता विशेषगरी उत्तरी हिबेई प्रान्त र उत्तरपूर्वी क्षेत्रको हेइलोङझ्याङ प्रान्तमा नयाँ संक्रमणहरू देखा पर्न थालेका छन्।
’
एजेन्सी