जारी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२१ मा आफ्नो अपराजित यात्रालाई कायम राख्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।
सुपर बाह्रको समूह २ मा रहेको पाकिस्तानले गएराती सम्पन्न खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।
पाकिस्तानले अब फाइनल प्रवेशका लागि समूह १ को उपविजेता अष्ट्रेलियासँग आउँदो बिहिबार सेमिफाइनल खेल खेल्नेछ ।
सारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाएका थिए भने सोयब मल्लिकले ५४ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए ।
जीतका लागि १९० रनको चुनौती बोकेर ब्याटिङमा उत्रिएको स्कटल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रनमा समेटिएपछि यो जीत पाकिस्तानको पक्षमा गएको हो ।
यो जीतसँगै पाकिस्तान पाँच खेलमा अपराजित रहँदै १० अंकसहित शीर्ष स्थानमा रहने यस विश्वकपको एक्लो टोली बन्न पुगेको छ ।
अब आउँदो बुधबार न्युजिल्याण्ड इङ्ल्याण्डबीच पहिलो सेमिफाइनल खेल खेलिंदैछ भने बिहिबार पाकिस्तान र अष्ट्रेलियाबिच दोस्रो सेमिफाइनल खेल खेलिंदैछ ।
हिजै सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डद्वारा अफगानिस्तान आठ विकेटले पराजित भएको छ । न्युजिल्याण्डको यो जीतसँगै भारत समूह चरणबाटै बाहिरिएको छ । भारतले आज समूह चरणको अन्तिम खेल भने नामिबियासँग साँझ ७.४५ बजे खेल्दैछ ।