काठमाडौं । भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । तिहार र छठलगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गरेको हो ।
कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टमा पठनपाठन गर्नुपर्नेलगायत व्यवस्था उल्लेख छ ।
मापदण्ड पालना भए, नभएबारे पालिकाहरुले अनुगमन गर्नेछन् । तर यसअघि खुलेका धेरै विद्यालयले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । साना कक्षाका बालबालिकाले मास्क साटासाट गर्ने, एउटै बोतलमा पानी पिउने तथा भौतिक दूरी पालना नगर्ने समस्या देखिएको छ ।
कतिपय विद्यालयमा शिक्षकले नै मास्क नलगाउने गरेको पाइएको अभिभावकको गुनासो छ । मन्त्रालयका प्रवक्ता शर्माले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व शिक्षक र प्रधानाध्यापकको भएकाले विद्यार्थीको सुरक्षामा ध्यान दिन आग्रह गरे ।
यस्तै विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे, नगरेकाबारे जानकारी लिन उहाँले अभिभावकसँग पनि आग्रह गर्नुभएको छ । वैशाखमा लकडाउन भएपछि बन्द भएका विद्यालय भदौको पहिलो हप्तादेखि खुल्न थालेका हुन् ।
सरकारले कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार पालिकाहरुलाई दिएको छ ।