ब्रजिलको मनाउस नगरका अस्पतालमा कोभिड-१९ का बिरामीलाई दिन चाहिने अक्सिजनको चरम अभाव भएको बताइएको छ।
अमेजोनस प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या वृद्धि भएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमले स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै सहयोग र अक्सिजनको अभावमा धेरै मानिसको मृत्यु हुनसक्ने समाचार छापेका छन्।
ब्रजिलमा अहिलेसम्म दुई लाख पाँच हजार जनाको कोभिड- १९ का कारण मृत्यु भइसकेको छ।
कोभिडबाट सबभन्दा धेरै मृत्यु बेहोरेको देशमध्ये पहिलो अमेरिका र दोस्रोमा ब्रजिल पर्छ।
अमेजोनसमा कोरोनाभाइरस सङ्क्रमणको पहिलो चरणमा पनि धेरै मानिसको मृत्यु भएको थियो। दोस्रो चरणको सङ्क्रमणले पनि यो क्षेत्र नराम्ररी प्रभावित भएको छ।
त्यहाँ सङ्कटकाल घोषणा गरिएको छ।
अस्पतालमा शवहरू राख्न कप तापक्रम कायम गर्न सकिने कन्टेनरहरू ल्याइएको छ।
राति कर्फ्यू
फिओक्रुज अमेजोनिया साइन्टिफिक इन्भेस्टिगेशन इन्स्टिट्यूटकी जेसेम ओरेलानाले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार मनाउसस्थित अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ र कैयौँ बिरामीका लागि अस्पतालका कक्षहरू सास फेर्न मुस्किल पर्ने च्याम्बर बनेका छन्।
धेरै जनाले शेअर गरेको यो क्षेत्रको दुर्दशा दर्शाउने एउटा भिडिओमा एक महिला स्वास्थ्यकर्मीले "हामी कठिन परिस्थितिमा छौँ, सबै एकाइमा अक्सिजन सकिएको छ" भनेको सुनिन्छ।
उनले भनेकी छन्, "यहाँ अक्सिजन सकिएको छ र धेरै मानिसहरू मरिरहेका छन्। कसैसँग अक्सिजन भए कृपया यहाँ ल्याइदिनोस्। यति धेरै मानिसहरू मर्दैछन्।"
अमेजोनसका गभर्नर विल्सन लिमाले उक्त प्रदेश "महामारीको सङ्कटपूर्ण घडीमा रहेको" भन्दै रातको समयमा कर्फ्यू घोषणा गरेका छन्।
स्थानीय स्वास्थ्यमन्त्री मार्सेलस क्याम्पेलोले भने, "स्थानीय तहमा उत्पादन गर्न सक्ने क्षमताभन्दा तीनगुणा अक्सिजन आवश्यक परेको छ, त्यसैले हामीलाई सहयोगको खाँचो परेको छ।"
ब्रजिलका उपराष्ट्रपतिले ट्विटरमा वायुसेनाले अक्सिजन सिलिन्डरसहित अस्पतालका लागि विभिन्न सामग्री ओसारेको तस्बिर प्रेषित गरेका छन्।
आईसीयू शय्याको अभाव भएकाले केही बिरामीलाई हवाईमार्गबाट अन्यत्र उपचारका लागि लगिने स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
अमेजोनस क्षेत्रबाट जापान आइपुगेका केही यात्रुमा कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको भनिएका बेला यो समाचार आएको छ।
राज्यद्वारा सञ्चालित ओस्वाल्डो क्रुज फाउन्डेशनका उपनिर्देशक फेलिपे नाभेकाले बीबीसीकी दक्षिण अमेरिका संवाददाता केटी वाटसनलाई त्यहाँ यूके र दक्षिण अफ्रिकाको भन्दा फरक किसिमको नयाँ कोरोनाभाइरसको प्रकार देखिएको बताए।
उनले भने, "नयाँ प्रकारका भाइरसलाई पनि सङ्क्रमण वृद्धिसँग जोडिएर हेरिएको छ यो चिन्ताको विषय हो।"
नाभेकाले नयाँ प्रकारको भाइरसमा कोभिड खोप कम प्रभावकारी हुने भन्ने कुनै तथ्याङ्क अहिलेसम्म नभएको बताए।
उनले त्यसबारे ठोस कुरा थाहा पाउन थप परीक्षण र अनुसन्धान गर्नुपर्छ भने।
बिबिसी