बिबिसी : गत वर्ष हिउँदको यही अवधिसँग तुलना गर्न यसपालि नेपालमा लगभग पानी नै नपरेको अवस्था भएको मौसमवदि्हरूले बताएका छन्।
"देशको पश्चिमी क्षेत्रका केही भागमा छिटपुट पानी त परेको छ। तर त्यो पनि औसतभन्दा कम नै परेको पाइएको छ," जल तथा मौसम पूर्वानुमान महाशाखका कार्यरत वरिष्ठ मौसमविद् विभूति पोखरेलले शुक्रवार बीबीसी न्यूज नेपालीसित भनिन्।
उदाहरणका लागि डडेलधुरामा यो हिउँदमा अहिलेसम्म १९ मिलिलिटर पानी परेको छ जबकि गत वर्षको सोही अवधिमा १६९.४ मिलिमिटर पानी परेको थियो।
मौसमको 'प्याटर्न' सधैँ उस्तै खालको नहुने भएकोले यो अवस्था देखिएको मौसमविद् पोखरेलको भनाइ छ।
"क्लाइमेन्ट भेरिएबल भन्ने हुन्छ। त्यो भनेको अघिल्लो वर्ष जस्तो थियो यो वर्ष पनि त्यस्तै हुनुपर्छ भन्ने हुँदैन," उनले थपिन्।
त्यसका साथै यो हिउँदमा अहिलेसम्म पश्चिमी वायुको प्रभाव पनि सशक्त नदेखिएकोले पानी नपरेको पोखरेल बताउँछिन्।
मौसमविद्हरूका अनुसार अहिले वर्षा नहुनु एउटा मौसमी प्रक्रिया भए पनि हिउँदे बालीको हकमा त्यो अनुकूल अवस्था नभएको बालीविज्ञहरू बताउँछन्।
सिँचाइको पर्याप्त व्यवस्था नरहेको नेपालमा लगाइने हिउँदे बालीदेखि बर्खे बालीसम्मका लागि किसानहरू मुख्यतया वर्षामा नै भर पर्छन्।
"अहिले पानी नपर्दा त्यसको असर हिउँदे बालीहरू गहुँ, तोरी र आलुको उत्पादकत्वमा पर्छ। उदाहरणका लागि गहुँमा गाँज कम आउँछ जसले गर्दा उत्पादन कम हुनसक्छ," गहुँ प्रजननविज्ञ डा. ध्रुवबहादुर थापाले बीबीसी न्यूज नेपालीसित भने।
माघ महिनाको मध्यसम्ममा पनि पानी परिदियो भने केही हदसम्म हिउँदे बालीको उत्पादकत्वमा अलि असर कम हुने सम्भावना रहेको उनी बताउँछन्।
थापाका अनुसार हिउँदमा पर्याप्त पानी परेको गत वर्ष नेपालमा २० लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो।
मौसमले उडान पनि प्रभावित
यसैबीच, तराईका विभिन्न जिल्लामा केही दिनयता बाक्लो कुहिरो लाग्ने गरेको आन्तरिक हवाई उडानहरू प्रभावित हुँदै आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
"आजको कुरा गर्नुहुन्छ भने अहिलेसम्म सिमरा, विराटनगर, भैरहवा, नेपालगन्ज, जनकपुर लगायतका विमानस्थल खुलेका छैनन्। भिजिबिलिटी कतै ५० मिटर कतै एक सय त दुई सय मिटरमा छ," प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बीबीसी न्यूज नेपालीसित भने।
"केही दिनदेखि हिजो [बिहीवार] सम्म दैनिक १५ देखि २० वटा आन्तरिक उडान रद्द हुँदै आएका छन्," उनले थपे।
मौसम पूर्वानुमान के छ?
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले दक्षिणपूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा भारतको पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु-कुहिरो लागेको महाशाखाले जनाएको छ।
"तराईमा यो अवस्था अझै कम्तीमा दुई दिन रहने देखिन्छ," महाशाखास्थित वरिष्ठ मौसमविद् पोखरेलले भनिन्।
शुक्रवार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।