काठमाडौं -आँखा मानव शरिरको अभिन्न अंग मध्ये एक हो । आँखा भएन भने दृश्यरुपमा सृष्टिलाई नियाल्न कठिन हुन्छ । त्यसैले आँखालाई बचाइ राख्ने कार्य शिशु जन्मेदेखि नै सुरु गर्नुपर्ने हुन्छ । आँखामा हुने विभिन्न खाले समस्याहरुको समयमै पहिचान गरि उपचार गरेमा भबिष्यमा आउनसक्ने जटिलताबाट बचाउँन सकिन्छ ।
आँखामा पनि विभिन्न खाले क्यान्सर लाग्न सक्छ भन्नेबारे कमै मानिसहरु मात्र जानकार छन् । आँखाको कुन भागमा क्यान्सर लाग्न सक्छ, आँखाको क्यान्सर कसरी थाहा पाउँने ? यसबाट बच्न कस्ता सावधानी अपनाउने ? यिनै बिषयमा केन्द्रित रहेर महिला स्वास्थ्यकर्मी समृद्धा के.सी. ले तिलगंगा अस्पतालमा कार्यरत अकुलर ओन्कोलॉजिस्ट (आँखाको क्यान्सर रोग विशेषज्ञ) डा.पुर्निमा राजकर्निकर स्थापितसंग गरेको कुराकानीको केहि सम्पादित अंशः
१. सामान्यतय आँखाको क्यान्सर भन्नाले के हो ?
क्यान्सर शरीरको जुनसुकै भागमा लाग्न सक्छ। त्यस्तै आँखामा पनि क्यान्सर हुन सक्छ। आँखाको विभिन्न भागमा फरक किसिमको क्यान्सर हुन सक्छ। सामान्यतया आँखामा, आँखाको डल्लो भित्र, आँखा बाहिरको डिलमा र आँखाको पछाडीको भागमा पनि क्यान्सर हुन सक्छ। यस्तो विभिन्न किसिमको क्यान्सर सबै उमेर समुहका मानिसहरुमा हुन सक्छ ।
२. आँखाको क्यान्सर के कारणले हुने गर्छ ?
आँखाको क्यान्सर धेरै किसिमका छन्। त्यसैले यसका कारणहरु पनि फरक फरक छन्। अस्पताल आउँने बिरामीहरुमा पनि फरक फरक लक्षणहरु देखिने गर्छन। यहि कारणले नै आँखाको क्यान्सर हुन्छ भनेर यकिन गर्न कठिन हुन्छ। आँखाको क्यान्सर र अन्य क्यान्सरमा के समानता छ भने यो क्यान्सर पनि समयमै उपचार नगरे बिरामीको आँखा र ज्यान दुबै जान सक्छ ।
शिशु जन्मिएदेखि पाँच वर्षको उमेरसम्मका बालबालिकालाई हुने क्यान्सरलाई रेटिनोब्लास्टोमा भनिन्छ । जुन शिशुले आमाको गर्भ देखि नै जेनेटिक म्युटेसन (वंशाणुगत उत्परिवर्तन) लिएर आएको हुन्छ त्यस्ता बालबालिकालाई रेटिनोब्लास्टोमा हुने गर्छ । यो क्यान्सर आमाले कुनै खाना खाएर वा रोग लागेर हुने होइन जेनेटिक म्युटेसन (वंशाणुगत उत्परिवर्तन) बाटै सुरु हुन्छ । सुरुवाती चरणमा आँखाको कालो भागमा सेतो टिका जस्तो देखिन्छ। त्यति बेला नै उपचार भएन भने त्यो ट्युमर आँखाको बाहिर पनि आउँन सक्छ। मासु बढेको जस्तो देखिनु पनि रेटिनोब्लास्टोमा हो ।
१० वर्ष मुनिको बालबालिकामा हुने क्यान्सर र्यार्प्टोमेसारकोमा भन्ने गरिन्छ । यो आँखाको पछाडी हुने मसल अर्थात अर्बिटहरुमा लाग्ने क्यान्सर हो ।
त्यस्तै आँखाको सेतो र कालो नानीमा हुने क्यान्सर ओ.एस.एस.एन (Ocular Surface Squamous neoplasia) घामँमा बढि काम गर्ने, चुरोट खाने, आँखा सुख्खा हुने व्यक्तिहरुमा लाग्छ ।
आँखा भित्र करिडियल मेलानोमा (Choroidal melanoma) क्यान्सर हुन्छ। यो बंशाणुगत कारणले हुन्छ। यस बाहेक अन्य धेरै क्यान्सरहरु पनि रहेका छन् ।
३. आँखाको क्यान्सर हुँदा कस्ता लक्षणहरु देखिन्छन्, लक्षणलाई कसरी पहिचान गर्ने ?
आँखाको डिलमा क्यान्सर भएमा डिलमा एक किसिमको घाउँ वा कोठि आउँन सक्छ। रातो खटिरा जस्तो नदुख्ने छिट्टो बढ्दै जाने घाउँ वा कोठि आउँन सक्छ । कुनै निको नहुने अल्सर वा मासु बढ्दै गयो भने पनि आँखाको क्यान्सरको लक्षण हो भनेर थाहा पाउँनु पर्छ ।
त्यस्तै आँखाको नानीमा लाग्ने क्यान्सर हुँदा (ओ.एस.एस.एन) आँखाको कालो भाग कालो नभए वा सेतो भाग सफा सेतो भएन र यो दुबै भागमा मासु बढेको जस्तो रातो देखियो भने त्यो पनि एउटा लक्षण हुन सक्छ ।
आँखाको पछाडीको भागमा लाग्ने क्यान्सर लाग्दा आँखा बस्ने घरलाई ट्युमरले आँखा घरबाट बाहिर फाल्न थाल्यो भने वा आँखा नै बाहिर निस्कन थाल्यो भने पनि यो एउटा लक्षण हुन सक्छ ।
रेटिनोब्लास्टोमा क्यान्सर हुँदा हाम्रो परिवेशमा आँखाको नानी सामान्यतया कालो, खैरो हुनुपर्ने हुन्छ तर त्यो नभएर सेतो टिका जस्तो देखियो भने त्यो पनि एउटा लक्षण हो ।
४. आँखामा क्यान्सर हुँदा कसरी उपचार गरिन्छ ?
यसको उपचार क्यान्सर कुन भागबाट आयो भन्नेमा निर्धारण हुन्छ । जस्तै क्यान्सर आइलिड वा डिलको छेउमा छ त्यो सानो छ भने अप्रेशन गरेर फाल्न सकिन्छ । यदि आँखाको भित्री भागमा छ, क्यान्सर सुरुवाती चरणमा छ भने त्यसलाई पनि काटेर फाल्न सकिन्छ । सुरुवाती चरणभन्दा अलि ढिलो असपताल गएमा किमोको थोपा दिनुपर्ने हुन्छ । त्यो भन्दा पनि ढिलो अस्पतालल पुगेमा आँखाको गेडा नै निकाल्नुपर्ने हुन्छ ।
अन्य क्यान्सरको जस्तै आँखाको क्यान्सरमा पनि स्टेज हुने गर्छ । सुरुको स्टेजमा आउँदा आँखाको ज्योति र आँखा दुवै बचाउँन सकिन्छ । अलिढिलो आयो भने आँखा बच्छ ज्योति जान्छ । अझ ढिलो भयो भने आँखा नै जाने र बिरामीको ज्यान जाने सम्भावना पनि बढ्छ ।
रेटिनोब्लास्टोमा हुँदा सुरुवाती चरण छ भने बालबालिकालाई हातबाट लगाउँने किमोथेरापी, टि टि टि लेजर थेरापी दिएर आँखालाई बचाउँन सकिन्छ । र ढिलो आएमा आँखा नै निकाल्नुपर्ने हुन सक्छ । त्यसपछि पनि किमो लगाउँनु पर्ने हुन्छ । सबै क्यान्सरका स्टेज अनुसार उपचार विधि फरक हुन्छ ।
आँखाको कुनै पनि क्यान्सर हुँदा सुरुको स्टेजमा आउँदा कमोथेरापी महिनाको एक पटक गरि ५ महिना सम्म लगाउँनु पर्ने हुन्छ । तर यो तिंलगंगा अस्पतालमा प्रयोगमा नल्याइएका कारण कान्ति बाल अस्पतालमा पठाउनु पर्ने हुन्छ । एक साइकल किमो दिए पछि बालबालिकालाई फेरि अस्पताल बोलाउछौं । फेरी बालबालिकालाई बेहोस पारेर त्यो किमोले कतिको काम गरेको छ हेरेर यदि छैन भने त्यसलाई पुनः टि.टि.टिद्धारा दिने गरिन्छ ।
किमोथेरापीद्धारा आँखामा भएको ट्युमरलाई छ महिनासम्म मार्नुपर्ने हुन्छ । एक पटक बेहोस पारेर टिटिटि, किमो लगाउँदा ८ देखि १० हजार सम्म लाग्छ । ढिलो अस्पताल आएको खण्डमा बालबालिकालाई बचाउँन सके पनि आँखा बचाउँन नसकिने हुन्छ ।
५. कतिपय व्यक्तिहरुमा आँखाको क्यान्सर सानो उमेरमा मात्र हुन्छ भन्ने गरिन्छ यो कुरामा कत्तिको सत्यता छ ?
आँखामा हुने विभिन्न समस्यामध्ये रेटिनोब्लास्टोमा ६ बर्ष मुनिको बालबालिकामा मात्र हुने क्यान्सर हो । यो आँखामा हुने एक किसिमको क्यान्सर हो । आँखाको क्यान्सर अन्य उमेर समुहका व्यक्तिमा पनि हुने गर्दछ । आँखाको डिल, पछाडिको भाग, नानीमा र रेटिनोमा हुने क्यान्सर ठुलो मान्छेमा पनि हुन्छ सक्छ ।
रेटिनोब्लास्टोमा बाहेक अरु सबै क्यान्सर जुन सुकै उमेर समुहका व्यक्तिमा पनि हुन सक्छ ।
६. बालबालिकामा हुने क्यान्सरमा अभिभावकहरुले के कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ?
रेटिनोब्लास्टोमा क्यान्सरलाई कसैले रोक्न सक्दैन । यो वंशाणुगंत रोग भएकाले कुनै खानपान वा जीवनशैलीबाट लाग्न सक्ने रोग होइन । तर यसको सुरुवाती लक्षणबारे परिवार सचेत रहेमा बालबालिकाको ज्योती बचाउँन सकिन्छ । त्यसका लागि अभिभावकहरुले आफ्नो बालबालिकाको आँखाको कालो नानीमा सेतो टिका देखिए वा असामान्य रातो भइरहेमा समयमै अस्पताल पुर्याए आँखा र ज्यान दुबै बचाउँन सकिन्छ । साथै बालबालिकाहरुको आँखा पोकेको पनि छैन, चिप्रा पनि छैन तर आँखा रातो भइरहन्छ भने पनि रेटिनोब्लास्टोमाको लक्षणका रुपमा लिन सकिन्छ । त्यस्तै बालबालिकाको आँखा डेडो हुँदै जाने र बोल्न सक्ने बालबालिकाले अभिभावकसँग आँखा हेर्नमा समस्या भयो वा आँखा देख्दिन जस्ता गुनासो गरेमा, आँखा आँखाको घरबाट बाहिर आउँने जस्ता लक्षण देखिएमा समेसम्म छिट्टो अस्पताल लैजानु पर्ने हुन्छ ।
बाहिर देशहरुमा पहिलो बच्चामा रेटिनोब्लास्टोमा छ र अर्को जन्मिने क्रममा छ भने उसलाई आमाको गर्भमा हुदाँ नै जाँच गरेर के छ अवस्था भनेर बुझ्ने गरिन्छ तर नेपालमा यस्तो विधि आइसकेको छैन । हामिले गर्न सक्ने भनेको अर्को बच्चा भयो भने जन्मिएको १ देखि २ महिना भित्रमा अस्पतालमा ल्याउने र चिकित्सकलाई देखाउन सल्लाह दिन्छौं । द्रोस्रो बच्चामा पनि त्यो समस्या भएमा सानो ट्युमर हुन्छ उपचार गर्न सहज हुन्छ ।
अभिभाबकमा रेटिनोब्लास्टोमा छ भने बालबालिकामा पनि यो समस्या आउँन सक्छ । त्यसकारण सावधानिका साथ बच्चा जन्मिने बितिक्कै आँखा जाँच गर्नुपर्ने हुन्छ ।
७. पछिल्लो समय यस अस्पतालल रेटिनोब्लास्टोमाका बिरामीहरु कत्तिको आउँछन् ?
पछिल्लो समय रेटिनोब्लास्टोमाका केशहरु बढि आइरहेका छन् । यो एक वर्षमा ४५ देखि ५० जनामा नँया केशहरु आएका छन् । र पुरानो पनि हामीले हेरिरहने भएकोले १ वर्षमा नयाँ र पुरानो गरेर २ सयको हाराहारीमा उपचार गरिरहका छौं ।
यदि अभिभाबकमा नै रेटिनोब्लास्टोमा भएर पहिलो सन्तानमापनि यो समस्या छ भने सानो वा कान्छो सन्तानको दुबै आँखामा हुने सम्भावना बढि हुन्छ ।
यदि परिवारको पहिलो सन्तानमा आँखाको क्यान्सर भएको हो भने एउटा आँखामा मात्र हुने सम्भावना बढि हुन्छ ।
८. आँखाको क्यान्सर हुन नदिन कस्ता सावधानी अपनाउने ?
सबैभन्दा पहिला आँखामा पनि क्यान्सर हुन्छ भन्ने जानकारी सबैले लिन आवश्यक हुन्छ । माथि उल्लेख गरेका लक्षणहरु देखिएको अवस्थामा सम्बिन्धत चिकित्सकलाई देखाउनु पर्छ भन्ने ज्ञान घरपरिवारमा हुनु आवश्यक छ । त्यसका लागि सकेसम्म जनचेतना जगाउँनु पर्छ । त्यसमध्ये पनि सबैभन्दा बढि जनचेतना रेटिनोब्लास्टोमाको बारेमा हुन जरुरी छ । यो क्यान्सरको उपचार समयमा नै भएन भने ज्यान पनि जान सक्छ । यो कुरा विशेषगरि आमा बुबा र घरमा बालबालिकाको स्याहार गर्ने व्यक्तिले ध्यान दिनुपर्छ । समय समयमा बालबालिकाको आँखामा सानो टिका छ कि भनेर हेर्नु पर्छ तर कतिपय ठाउँमा आँखामा टिका आउँनुलाई राम्रो मान्ने अन्धविश्वास लिएर धेरै बिरामीहरु पनि आएका छन् । यो कुरामा सत्यता छैन । आँखा जस्तो हुनु पर्ने हो त्यो भन्दा केहि सानो फरक देखियो भने पनि अस्पताल गइहाल्नु पर्ने हुन्छ ।
दुर्गम क्षेत्रमा अस्पतालमै बच्चा जन्मिन्छ भन्ने हुँदैन कतिपय स्थानमा सुडेनिहरुले पनि बच्चा जन्माउन मद्दत गरिरहेका हुन्छन् त्यसकारण उनिहरुलाई पनि सचेनता तालिम दिनु पर्छ शिशु जन्मने बितिकै शिशुको आँखामा सेतो कोठि जस्तो केहि छ वा सामान्यतया भन्दा केहि फरक छ कि भनेर थाहा पाउँन सक्ने ज्ञान दिनु पर्छ ।
रेटिनोब्लास्टोमा बाहेक अन्य क्यान्सरबारे त्यति जानकारी नभएकाले आँखाको डिल र वरिपरि भएको कोठि ठुलो भएपछि मात्र बिरामी अस्पताल आउँने गर्छन । कोठि ठुलो भयो भने आँखाको डिल काट्नुपर्ने हुन्छ, र त्यहाँ केहि जोड्नु पर्छ जसका कारण ठुलो अप्रेशन गर्नुपर्ने हुन्छ । समस्या सानो हँुदा नै थाहा पाए बिरामीलाई पनि सजिलो हुन्छ । ठुलो भएपछि आउँदा धेरै खाले जटिलताहरु आउँन सक्छन् । बिरामीको ज्यानको जोखिम पनि उक्तिकै बढ्छ ।
महिला स्वास्थ्य