महोत्तरी - महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । चिसो बढ्दै जाँदा दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी ह्वात्तै बढेका छन् । खासमा गरिब बस्तीका वृद्धवृद्धा, स–साना दूधेनानी र सुत्केरी बढी जोखिममा परेका बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विधानचन्द्र झा बताए ।
चिसो बढ्दै जाँदा यसबाट घरका परिवारजनलाई ठिक राख्नु पहिलो प्राथमिकता भएको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । विनाप्रयोजन घर बाहिर ननिस्कने, खानेकुरामा गेडागुडीको तातो झोल, तातोपानी र ताजा खानेकुरा खाने, धुँवा ननिस्कने दाउराको आगो ताप्ने, न्यानो ठाउँमा बस्ने र न्याना लुगा लगाएर चिसोबाट हुने मानवीय क्षति बढ्न दिनबाट जोगाउन सकिने स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन् ।
यसैगरी घरपालुवा पशुवस्तुलाई पनि घरकै ढुटोपिठो पानीमा मिसाएर तताएर दिने, आङमा बोराचट्टी ओढाएर न्यानो गोठमा राख्ने, गोठ निरन्तर सफा राख्ने र घरवरपरकै पराल, भुसमा दाना मिसाएर ख्वाउने गरे चिसोबाट हुने पशु क्षति घटाउन सकिने जिल्लाका पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीको सल्लाह छ ।
गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् । “बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्”, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहा भन्छन्, “अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, फुल र कोसा पनि कक्रक्क परेका छन् ।” बाली देख्दा मन विरक्तिने स्थिति रहेको कुशवाहा बताए। कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको चिन्ता जनाए ।
लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ । “न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ”, जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बासिन्दा किसान हीरादेवी दाहाल भन्छन्, “यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।” आफ्ना गोठका सात भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले सात दिनदेखि पराल र पुरानो गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको दाहाल बिरक्तिँदै बताए ।